जागिर लगाइदिन्छु भन्दै ५० हजार देखि २ लाख ६० हजार सम्म ठगी गर्ने ८ जना पक्राउ


काठमाडौं – जागिर लगाइदिन्छु भन्दै नेटवर्क बनाएर ठगी गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको सायल– २ घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रालिको सञ्चालक २६ वर्षीय नरेश बोहोरा, दार्चुलाको महाकाली–४ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको उक्त प्रालिको व्यवस्थापक तथा कर्मचारी २४ वर्षीय कृष्ण धामी, अछामको कमल बजार–६ घर भएका २४ वर्षीय कमल शाही, अछामको कमल बजार– ६ का २२ वर्षीय रबिन्द्र शाही, कन्चनपुरको महाकाली नगरपालिका– २ की २२ वर्षीया मनिषा सिंह, कन्चनपुरको बेल्डाडी – १ की २१ वर्षीया निर्मला धामी, बैतडीको सिगास – ६ की २२ वर्षीया सुनिता साउद र डोटीको बडिकेदार– ४की २२ वषीया कमला चिमाला रहेका छन् ।

उनीहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकमा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रालि मार्फत ग्लोवल ओरियन्स नेपाल प्रालिमा विभिन्न जिल्लाका बेरोजगार युवायुवतीलाई सिप सिकाइ राम्रो तलब सुविधा सहित रोजगारी दिलाउने भन्दै ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजंग बुढथापा बताउँछन् । उनीहरूले वार्षिक २० हजार तिरेर खाना बस्न सहित घर भाडा कोठामा राखी नेटवर्किङ मार्केटिङ गरी विभिन्न प्रलोभनमा सर्वसाधारण पर्ने गरेका थिए ।

साथै , उनीहरूले आफू मातहत नेटवर्कमा नयाँ सदस्यलाई आवद्ध गराइ प्रतिव्यक्ति ५० हजारदेखि २ लाख ६० हजारसम्म रकम जम्मा गर्न लगाउने गरेको प्रवक्ता बुढथापाले बैंकिङ्ग समाचारलाई बताए । बुढथापाले भने ,‘ अहिले सम्ममा १५ जना जति व्यक्तिहरू उनीहरुविरुद्ध उजुरी दिन आइसकेका छन् । अझै पनि उनीहरूले ठगी गरेको व्यक्तिहरू उजुरी दिन आउने क्रम जारी रहेको छ ।’ उनीहरूले अफिसमा राम्रो जागिर लगाइदिन्छु भन्दै व्यक्ति पिच्छे ५० हजार देखि २ लाख ६० हजारसम्म लिने गरेको पाइएको छ ।