नेपाल मानव रहित विमान संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच समझदारी


काठमाडौं – नेपाल मानव रहित विमान (ड्रोन) संघ– उडान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

गृहमन्त्रीको विशेष उपस्थितिमा आज सिंहदरबारमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल मानव रहित विमान (ड्रोन) संघ – उडान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । यस समझदारीअनुसार विपद् व्यवस्थापनका विभिन्न चरणहरू, पूर्वतयारी, तदारुकतापूर्ण प्रतिक्रिया, राहत तथा पुनःस्थापनामा उडानले आफ्नो प्रविधि, जनशक्ति तथा मानव रहित विमान (ड्रोन) मार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आवश्यक सहयोग प्रदान गर्नेछ।

कार्यक्रममा बोल्दै गृहमन्त्री ज्यूले प्राकृतिक तथा मानव निर्मित विपद्का घटनामा तुरुन्त प्रतिक्रिया जनाउन प्रविधि प्रयोगको आवश्यकता रहेको उल्लेख गर्दै यस कार्यमा सरकार मात्र नभई गैर सरकारी संस्था उडानको सहकार्यले विपद् व्यवस्थापन प्रणालीलाई थप सबल बनाउने विश्वास व्यक्त गरे। 

उडान का मह सचिव श्री प्रविन भट्टराईले आपत्कालीन अवस्थामा वास्तविक समयको तथ्याङ्क सङ्कलन, क्षति मूल्याङ्कन तथा पहुँचविहीन क्षेत्रहरूमा सहायता पुर्‍याउन ड्रोन प्रविधिले ठूलो योगदान गर्न सक्ने धारणा व्यक्त गरे र यस कार्यमा ड्रोन तथा ड्रोन चालक नि: शुल्क उपलब्ध हुने प्रतिबद्धता पनि सरकार समक्ष जनाए । ‘यस समझदारीले विपद् न्यूनीकरण, तत्परता र प्रतिक्रियाका क्षेत्रमा सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ’ प्रविन भट्टराईले भने ।  त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले यसलाई एक महत्त्वपूर्ण समझदारीका रूपमा लिँदै, आपसी सहकार्य र समन्वयमार्फत प्रभावकारी विपद् व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।