लुम्बिनी – आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा करिब १३ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत आवमा १३ अर्ब २७ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् लक्ष्यको ९७.८ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए।
कार्यालयका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा राजस्व सङ्कलन २ अर्ब ३५ करोड रुपैयाँ अर्थात् २५.७ प्रतिशतले बढेको छ । कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असारमा लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको प्रमुख पोख्रेलले बताए
कार्यालयले गत आवमा आयकरतर्फ १ अर्ब ७० करोड ११ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ र अन्तःशुल्कबापत ९ अर्ब १ करोड ५६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तः शुल्कतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
यस्तै, आयकरतर्फ ३७ करोड रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ २९ करोड रुपैयाँले राजस्व बढेको छ । प्रमुख पोखरेलले अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढेकाले राजस्व सङ्कलन बढेको हो । उनले सरकारले राजस्व दाखिलालगायतका भुक्तानीमा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको बताए।
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देहीका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं ५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका गाउँपालिका पर्छन् ।



About Us
प्रतिक्रिया