विराटनगर – पेनस्टोक पाइप हालेर मेची राजमार्ग अन्तरगत पाँचथरको हेवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढी बगाएको छ। डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । शनिबार राती परेको अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले पेनस्टोक पाइपमाथिको ढुंगा माटो बगाउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो।
हेवा खोलामा पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण गरिएको थियो । बेलिब्रिज बगाएपछि पुनः मोडुल ब्रिज राख्ने क्रममा भाँचिएपछि खोलामै पेनस्टोक पाइप हालेर डाइभर्सन तयार पारिएको थियो । मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन वटा पालिकाबीच सडक सम्पर्क समेत टुटेको छ ।
यता, पाँचथरको याङवरक गाउँपालिका–२ को दोभान र वडा नम्बर ३ को रिजाल भीरमा शनिबार राति खसेको पहिरोले अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ । सडकको पहिरो हटाएपछि सवारी साधन सञ्चालन भएको पाँचथर प्रहरीले जनाएको छ । हेवामा पेनस्टोक पाइपमाथि पुनः ढुङ्गा माटो हालेर डाइभर्सन निर्माण गर्ने प्रयास भइरहेको जनाइएको छ ।



About Us
प्रतिक्रिया