काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् । गोल्डस्टार जुत्ता उत्पादक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा प्रतिपक्ष भूमिकामा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रतिको आफूहरूको दृष्टिकोण समान रहेको बताए ।
‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस् राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने हाम्रो खुला नीति छ’, पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सृजना गर्ने, मुलुकको आर्थिक विकासमा योगदान गर्नेहरूलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रूपमा लिन्छौँ ।’ त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रूपमा स्थािपित गर्ने आफूहरू सधैँ लागि पर्ने उनको प्रतिबद्धता थियो । पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति हुने बताए । जीवन चलाउन श्रम बेच्नुपर्ने बाध्यतामा श्रमिक र उद्यम सञ्चालन गर्न श्रम किन्नुपर्ने उद्यमीको बाध्यता नै दुईथरीको मिलनबिन्दु भएको उनको भनाइ थियो । ‘श्रमिकले श्रमको बढी मूल्य खोज्छ । उद्यमीले बढी नाफा खोज्छ ।
उद्यम पनि चल्नुपर्छ । श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ । श्रमिकले संघर्ष गर्दा व्यवसाय नै बन्द हुने गरी गर्नुहुँदैन । व्यवसायीले श्रमिक मार्ने गरी शोषण गर्नु हुँदैन’, पुनले भने, ‘बाच्नका लागि श्रम बेच्नैपर्ने श्रमिकको बाध्यता र आफ्नो उद्यम चलाउन श्रम किन्नुपर्ने उद्यमीको बाध्यता नै उनीहरुबीचको ‘मिटिङ प्वाइन्ट हो । श्रम किन्ने र बेच्ने दुवैले एक अर्काप्रति न्यायोचित भएर सोच्नुपर्छ ।’ उद्योगीको पुँजी, जमिन, मेशिन र श्रमिकको श्रम मिलेपछि मात्र वस्तु उत्पादन भएर बजारमा जाने भएकाले दुई पक्षबिच अस्वस्थ द्वन्द्व भए उद्योग नै नचल्ने र दुवै पक्षले हार्ने उनको तर्क थियो ।
उनले राष्ट्रिय पुँजीपतिहरूलाई प्रवर्द्धन गर्ने पार्टीको नीति रहेकाले पार्टीनिकट मजदुर सङ्गठनलाई पनि सोही नीति अनुसरण गर्न अपिल गरे । उद्यमी व्यवसायीलाई पनि श्रमको उचित मूल्य दिन आग्रह गरे ।
पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्ड स्टार जुत्ता मुलुककै गर्व गर्न लायक उत्पादन भएको बताए । आफूहरूले जनयुद्धको समयमा गोल्ड स्टार जुत्ताको अधिक प्रयोग गरेको स्मरणसमेत पुनले गरे । सोही कारण राज्य सञ्चालकहरूले गोल्ड स्टारको उत्पादन, बिक्री वितरण गर्नेदेखि प्रयोगकर्तालाई समेत दुःख दिएको उनले बताए । ‘राज्य वा प्रहरी प्रशासनले गोल्ड स्टार जुत्ता लगाएको मानिस माओवादी हो, देख्ने बित्तिकै गोलीले सुट गर्नु भनेर आदेश दिएका कारण कतिपय स्थानमा घटना पनि घटेका छन् ।
गोल्ड स्टार जुत्ता गाउँ जान नदिने, कतिपय अवस्थामा सप्लाई र बिक्री गर्ने मान्छेलाई पनि पक्राउ गरेको घटना छ’, पुनले भने । गत वर्ष भारतमा मात्र १ अर्ब ६० करोडको गोल्ड स्टार जुत्ता निर्यात भएको भन्दै उनले व्यवस्थापनको प्रशंसा गरे । ‘हामी धेरैजसो विदेशी सामान किन्छौँ । विदेश निर्यात गर्ने हामीसँगै कमै उत्पादन छन् । गोल्ड स्टारले भारत, अमेरिका र युरोपका बजारमा आफ्नो स्थान बनाउनु गौरवको कुरा हो’, पुनले भने, ‘ गोल्ड स्टार नेपालको राष्ट्रिय ब्रान्ड हो । हामी सबै चिज किन्छौँ, तर विदेशमा जाँदा हामीले बेच्ने चिज पनि छ है भन्ने गौरव गोल्ड स्टार भएको छ । झट्ट हेर्दा व्यापार हो । तर, यसमा हाम्रो राष्ट्रिय पहिचान पनि हुँदो रहेछ । भारत, अमेरिका वा युरोपको बजारमा गएर गोल्ड स्टार किन्दा गाैरव हुन्छ किनकि त्यसमा ‘मेड इन नेपाल’ लेखिएको छ ।’



About Us
प्रतिक्रिया