नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब २८ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई२७ लाख ९२ हजार २९६ रूपैयाँ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ ।
नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ हजार १४८ लिटर दूधमा प्रतिलिटर दुई रूपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो ।
नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती–१४ मार्फत छ लाख ३५ हजार २७५ लिटर, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८ मार्फत तीन लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७ मार्फत तीन लाख १६ हजार ९९२ लिटर, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ मार्फत ५७ हजार ५८३ लिटर र नमुना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत ६७ हजार २३३ लिटर दूध सङ्कलन भएको र सोही आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिए ।
नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानले किसानलाई प्रोत्साहन गर्ने विश्वास लिइएको बताए । ‘किसानलाई केही राहत होस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराइएको हो’, उनले भने ।



About Us
प्रतिक्रिया