पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने


काठमाडौं – समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच मर्जरमा जाने सम्झौता भएको छ। दुवै कम्पनीबीच आज साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको हो।मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीले गरेका छन् । समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।

दुवै कम्पनीबीच मर्जरका लागि प्रारम्भिक समझदारी तथा कानुनी आधार तय गर्ने, संयुक्त मर्जर समिति गठन गर्ने, शेयर स्वाप अनुपात कायम गर्ने, मर्जरपछि सञ्चालक समिति गठन गर्ने, कर्मचारीको व्यवस्थापन गर्ने, सम्पत्ति दायित्व मूल्यांकन गर्नेलगायतको समझदारी भएको छ। आपसी समझदारीमा सुदीप घिमिरेको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा दिनेशकुमार बर्तौला, विनोदकुमार सुवेदी, तिलबहादुर गुरुङ, प्रतीक गुरुङ र यमबहादुर सुर्खाली छन्।

प्रारम्भिक सझदारीअनुसार मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम गरिएको छ। मर्जरपछि गठन हुने सञ्चालक समितिमा समृद्धि फाइनान्सका तर्फबाट संस्थापक समूहबाट २ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र सञ्चालक गरी २ जना सदस्य हुनेछन्। पोखरा फाइनान्सका तर्फबाट भने संस्थापक समूहबाट १ जना, सर्वसाधारण समूहबाट २ जना गरी ३ जना सदस्य हुनेछन्।