काठमाडौं – किर्ते कागजात र छाप बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धरमपुर घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय सफराज खड्का रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले नक्कली शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट र विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।
खड्काले विगत दुई वर्षदेखि आफ्नै निजी पसलमा यस्ता नक्कली कागजात तयार पार्दै आएका थिए। उनको पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय (मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालत) तथा राजनैतिक पार्टीहरूको समेतको होलोग्राम विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत बैंक तथा वित्तीय संस्थाको रवर स्ट्याम्प बनाउने गरेको खुल्न आएको छ ।
पक्राउ परेका खड्काको डेराबाट त्रिभुवन विश्वविद्यालय, प्राविधिक शिक्षा परिषद्, उच्च माध्यमिक शिक्षा परिषद् र राष्ट्रिय परीक्षा बोर्डको नक्कली होलोग्राम, विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत तथा बैंक तथा वित्तीय संस्थाका रबर स्टाम्प, नक्कली शैक्षिक प्रमाणपत्रहरू, बैंक स्टेटमेन्ट, प्रिन्टर, स्क्यानर, रबर स्टाम्प बनाउने मेसिन, मोबाइल लगायतका प्रमाणहरू बरामद गरिएको प्रहरीले बताएको छ ।
उनले भाइबर र ह्वाट्स जस्ता सामाजिक सञ्जालहरू मार्फत विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी अडर लिएर सामाग्री दिने गरेको पाइएको प्रहरीले जनाएको छ । खड्काविरुद्ध लिखत सम्बन्धी कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।



About Us
प्रतिक्रिया