काठमाडौं – यतिबेला विश्व बजार कृत्रिम बौद्धिक्ता (एआई)का कारण हलचलको सामना गरिरहेको छ । बैंक तथा वित्तीय संस्था, बीमा, शेयर बजार, गम्भीर प्रकृतिका उपचार, युद्ध लगायत क्षेत्रमा एआईले क्रान्ति गरिरहेको छ । यसबाहेक, अन्तरिक्षतर्फको खोज तथा अन्य सबैजसो क्षेत्रमा एआईको प्रयोग व्यापक छ ।
यससँगै, विश्वको बीमा क्षेत्रले समेत एआईको प्रयोग द्रुतगतिमा बढाइरहेको छ । तर, नेपालका बीमा कम्पनी भने यसतर्फ बेखबर जस्तै देखिएका छन् । बीमा कम्पनीहरूले एआईबारे सुन्ने गरेपनि यसको प्रयोगमा औपचारिक तयारी नथालेको देखिन्छ ।
नेपालको बीमा बजार अन्तर्राष्ट्रिय तुलनामा सानो र सीमित छ । अझै बीमाको दायरा ५० प्रतिशत पुग्न सकेको भने छैन । बीमा समिति हाल नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा साक्षरताको कमी र जटिल प्रक्रियाहरूले बीमा क्षेत्रको विस्तार र डेटा सकंलनमा बाधा पुर्याएको छ । यस्तो अवस्थामा एआईले तथ्यांक केलाउनेदेखि ‘फ्रड डिटेक्ट’ गर्ने तथा ‘ब्लक चेन’मा आधारित प्रविधि प्रयोगमा सहयोगी भूमिका पुर्याउन सक्थ्यो ।
यही तथ्यलाई बुझेर बैंक तथा वित्तीय संस्थाले भने एआईको प्रयोग अघि बढाइसकेका छन् । बैंकहरुले आफ्नो वेबसाइटमा ‘च्याटबट’ राखेर सेवाग्राहीसँग अन्तरक्रिया गर्दै आइरहेका छन् । जुन, सामान्य तर, उत्कृष्ट मान्न सकिन्छ । किनकि, एआईको प्रयोग सुरु गर्न विकसित देशमा जस्तै एकैपटक सकिँदैन । च्याबटकै कारण सेवाग्राहीलाई बैंकहरुले स्वचालितरुपमा ‘प्रडक्ट’ तथा धेरै खालका जिज्ञासाको समाधान गर्दै आइरहेका छन् ।
एआईलाई प्रत्यक्षरुपमा नअँगालेपनि बीमा कम्पनीहरूले प्रविधिको प्रयोग भने बढाउँदै लगेका छन् । डिजिटल बीमालेख, बीमालेख कर्जा तथा सरेण्डर, दाबी भुक्तानीलाई डिजिटल बनाइरहेका छन् । तर, स्वचालितसम्मको यात्रामा भने कम्पनीहरूले सोचेको जस्तो देखिँदैन ।
कस्तो छ अवस्था ?
नेपालको बीमा क्षेत्रमा एआईको पूर्णरुपमा प्रयोग नबढेपनि केही प्रयासहरू भने सुरुवात भैसकेको छ । कम्पनीहरूले ब्राण्डिङका लागि ‘एआई जेनेरेटेड इमेज/भिडियो’ बनाउन थालेका छन् । बीमालेखका लागि एआईको सहायतामा मोडलहरू तयारीमा पनि कम्पनीहरू लागि सकेका छन् । भविष्यमा बीमा कम्पनीहरू ‘रोबिटिक’ प्रक्रिया र अटोमेसन लगायतको प्रयोगमा समेत अघि बढ्न आवश्यक रहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुली बताउँछन् ।
‘एआईको चरणमा पुग्नका लागि कम्पनीहरूको स्तरअनुसारको समय लाग्छ,’ उनले थपे, ‘नेपालको समग्र साक्षरता ७७ प्रतिशत जनसंख्यामा पुगेको छ भने डिजिटल साक्षर जनताको संख्या ३१ प्रतिशत छ । यसमा ठुलो भिन्नता छ ।’ यस्तै, कम्पनीहरूले कस्ता खालका सेवालाई डिजिटलरुपमा अघि बढाउने भन्ने विषयमा भने स्पष्ट बन्नुपर्नेमा पराजुलीको जोड छ । यसबाहेक, अन्य क्षेत्रमा भने बीमा कम्पनीले खासै एआईको प्रयोग गरेका छैनन् ।
नेपाली बीमामा एआईको आवश्यकता
नेपालको सन्दर्भमा पनि बीमा उद्योगमा एआईको प्रयोग र सम्भावनाले नयाँ आयाम थपिरहेको छ । यो प्रविधिले जोखिम व्यवस्थापन, ग्राहक सेवा, दाबी धोखाधडी नियन्त्रणमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना बोकेको छ । तर, यसको प्रभावकारी कार्यान्वयनका लागि कस्ता आवश्यकताहरू छन् । र, यसले कस्ता सम्भावनाहरू खोल्दैछ भन्ने कुराहरू समन्वय निकायहरूले बुझ्न आवश्यक रहेको छ ।
नेपालजस्तो विकासोन्मुख बजारमा, जहाँ प्रविधियुक्त बीमा क्षेत्रको विस्तार हुँदैछ । बीमा क्षेत्रमा भएको समस्याहरू समाधानको लागि एआई जस्ता उपकरणको पनि आवश्यक रहेको बीमा विज्ञ रबिन्द्र घिमिरेको भनाइ रहेको छ । उनी भन्छन्, ‘नेपालमा बीमा कम्पनीहरूले ग्रामीण र शहरी क्षेत्रमा समान रूपमा सेवा विस्तार गर्नुपर्ने चुनौती छ । एआईले डिजिटल प्लेटफर्ममार्फत पहुँच र प्रभावकारिता बढाउन सक्छ ।’
जोखिम मूल्याङ्कन र व्यवस्थापन एआईले प्राकृतिक प्रकोपहरू जस्तैः भूकम्प, बाढी, खडेरी र अन्य जोखिमहरूको डेटा विश्लेषण गरी बीमा कम्पनीहरूलाई जोखिम न्यूनीकरण र मूल्य निर्धारणमा सहयोग गर्न सक्ने उनको जिकिर छ । यसबाहेक, दाबी प्रक्रियामा एआईले मूल्याङ्कनलाई छिटो र पारदर्शी बनाउन सक्छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले पनि बीमा क्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै एआईको प्रयोग पनि भविष्यमा गर्न सकिने बताउँछन् । तत्कालको लागि अभ्यास कम भएको कारण बीमा क्षेत्रमा एआईको प्रयोग बढाउनको लागि समस्या रहेको बताउँछन् ।
कस्तो छ अन्तराष्ट्रिय अभ्यास ?
विश्वभर हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गइरहेको छ । दाबी सेवा प्रदायक ‘गालाघेर बास्सेट’ ले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी भुक्तानी प्रक्रिया, अन्डरराईटिङ र ग्राहकहरूको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक गरेको छ । सर्वेक्षणमा सन् २०२४ मा बीमकहरुले एआई प्रविधिको प्रयोग, मूल्य निर्धारणको बारेमा जानकारी दिन अन्डरराईटिङ जोखिमको उचित मूल्यांकन र कर्मचारीलाई टिकाइ राख्नका लागि विभिन्न रणनीतिहरूमा जोड दिइरहेको पाइएको छ ।
ग्राहक सेवामा ६७ प्रतिशत र दाबी प्रक्रियामा ४५ प्रतिशत एआई प्रविधिको प्रयोग भईरहेको रिपोर्टमा उल्लेख गरिएकाे छ । जोखिम व्यवस्थापनमा ३१ प्रतिशत र अन्डरराईटिङ प्रक्रियामा २५ प्रतिशत एआई प्रविधिको प्रयोग भइरहेको छ । विश्वका ४४ प्रतिशत बीमकहरु दाबी भुक्तानी प्रक्रियामा एआई च्याटबट र जेनेरेटिभ एआईको प्रयोग गर्ने प्रक्रियामा रहेको सर्वेक्षणमा उल्लेख छ । साथै, ४२ प्रतिशत बीमकहरुले भने यी प्रविधिहरूलाई पूर्णरुपमा अपनाइसकेका छन् । सर्वेक्षणमा उत्तर अमेरिका, बेलायत, अस्ट्रेलिया र न्यूजील्याण्डमा बीमा व्यवसाय गरिरहेका १५० बीमकहरुलाई समेटिएको थियो ।
यस्तै, भारतको पोलिसी बजार जस्तो कम्पनीहरूले पनि दाबी फर्छ्यौटको लागि प्रयोग गर्न थालिसकेका छन् । पोलिस बजारका अनुसार एआई प्रणाली लागू गरेदेखि प्लेटफर्मले दाबी प्रक्रियाका लागि प्रारम्भिक धोखाधडी पत्ता लगाउने कार्यमा १४ गुणा सुधार देखिएको छ ।





About Us
प्रतिक्रिया