नक्कली सुन देखाई ३२ लाख ठगी गर्ने तीन जना पक्राउ 


काठमाडौं – सुन जस्तो देखिने पहेँलो धातुको ढिक्कालाई सुन हो, सस्तोमा दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  ताप्लेजुङका फाकुम्बा– ६ घर भई हाल ललितपुरको  सात दोबाटो बस्ने वर्ष ६० को कर्णध्वज लिम्बु, रामेछापको शैलुङ्ग– ८ दोरम्बा घर भई हाल ललितपुरको सात दोबाटो बस्ने वर्ष ३६ को विजय तामाङ र ताप्लेजुङको  मिरिङदुयान – २ घर भई हाल ललितपुरको सात दोबाटो बस्ने वर्ष ४४ को बिरेन लिम्बु  रहेका छन् । 

उनीहरूले सुन जस्तो देखिने पहेँलो धातुको ढिक्कालाई सुन हो, सस्तोमा दिन्छु भनी ललितपुर खोकना बस्ने वर्ष ४४ को आशारत्न डंगोललाई २५ लाख र काभ्रेपलान्चोकको मण्डनदेउपुर– १ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक– ४ बस्ने रामचन्द्र गहतराजलाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ । उनीहरूलाई  काठमाडौंको टोखा– ५ श्रीटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट धातुको ढिक्का १ थान, पहेलो रङ्गको धातुको चार पाटा ढिक्का १, फलामको हम्बर १ थान, आधी भाग भाँचिएको चक्कु १ थान, रेडमी कम्पनीको मोबाइल समेत ६ थान र हन्डा कम्पनीको डिआईओ स्कुटर १ थान सहित ३२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।