सट्टाबाजी खेलाउने ५ जना प्रहरीको फन्दामा 


काठमाडौं – अनलाइन सट्टाबाजी खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका– ८ ईमाटोल बस्ने वर्ष ३२ को दिगज नकर्मी,  ऐ.ऐ.४ कमल विनायक बस्ने वर्ष २८ को संजिब कुशी, ऐ.ऐ.बस्ने वर्ष २४ को रोशन प्रजापति, ऐ.ऐ. सुर्य विनायक नगरपालिका वडा नं.७ कटुन्जे बस्ने वर्ष २९ को एलिस कुश्म र काठमाडौंको  काठमाडौं महानगरपालिका– १६ शान्तिनगर बस्ने वर्ष ३१ को रोजन महर्जन रहेका छन् । 

काभ्रेपलाञ्चोकको  मण्डनदेउपुर नगरपालिका– ७ नगरकोट स्थित नाल्डम गाउँ रिसोर्ट र हरियो शान्ति रेस्टुरेन्ट नामक होटलमा अनलाइन सट्टाबाजी खेलाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी अधिकृत समेतको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले  उक्त होटेल खानतलासी गर्दा सट्टाबाजी खेलाई रहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनीहरूले सट्टाबाजी (जुवा) खेलाउन प्रयोग गरेको ल्यापटप ५ थान, र मोबाइल १८  थान समेत बरामद गरी उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।