बजेटमा सपना छैन, आसा छैन, जनताको आवाज छैन :  प्रचण्ड


काठमाडौं – संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको बजेट र आर्थिक नीतिमाथि कडा आलोचना गरेका छन् ।

उनले सरकारको बजेटलाई ‘संख्याको दम्भमा दोहन गरिएको दस्ताबेज’ भन्दै लोकतान्त्रिक मूल्यको ‘सर्भिसिङ’ गर्ने अवसर गुमाएको आरोप लगाए संसद्मा बोल्दै प्रचण्डले प्रश्न गरे, ‘यो गठबन्धन बन्दै गर्दा मेरो नेतृत्वको सरकारमाथि तपाईँहरूले पुँजीगत खर्च बढाउन नसकेको, सार्वजनिक ऋण बढेको आरोप लगाउनु भएको थियो, तर आज के अवस्था छ ?’

उनका अनुसार अहिले सार्वजनिक ऋण करिब २७ खर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३ प्रतिशत नाघ्न लागिसकेको छ। ‘अब ऋण तिर्न ऋण लिने प्रवृत्तिले देश कति दिन टिक्ने ?’ भन्ने प्रश्न उनले उठाए ।

बजेटको संरचना र प्राथमिकताप्रति असन्तुष्टि जनाउँदै उनले भने,‘बजेटमा न त सपना छन्, न आसा। प्राथमिकतामा सिमेन्ट, गिट्टी–बालुवा र टावर राख्नुभयो, तर जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो।’

प्रचण्डले बजेटलाई प्रतिनिधित्वविहीन, पक्षपाती र जनताको समस्यासँग विमुख भएको आरोप लगाउँदै भने ‘बजेटमा थारु देखिएनन्, मधेसी देखिएनन्, आदिवासी, जनजाति, मुस्लिम, महिला, दलित, मजदुर, किसान देखिएनन्। न त कर्णाली, सुदूरपश्चिम र मधेस नै अटायो। दुई दलको सत्ताउन्मादको दस्ताबेज मात्र बनाइयो बजेट।’