आगलागीले वर्षेनी जल्छ अर्बौंको सम्पत्ति, बीमा क्षेत्रमा छैन क्षतिको विवरण

बीमा उद्योगले देखेन व्यावसायिक सम्भावना, राख्दैन भुक्तानीको तथ्यांक

नमुना के. सी.
14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आगलागी जस्ता घटनाबाट प्रत्येक वर्ष अर्बौं रुपैयाँ जनधन जल्ने गरेको छ। आगलागी भई हरेक वर्ष नेपालले ठुलो जनधन गुमाइरहेको हुन्छ । चालु आर्थिक वर्षको वैशाखसम्म मात्र १ अर्ब ९६ करोड ६० लाख बराबरको सम्पत्तिको नास भएको प्रहरीले जनाएको छ । गत ६ आर्थिक वर्षको अवधिमा १५ अर्ब ७३ करोडभन्दा बढी रकम बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको तथ्याङ्क छ । यस्ता क्षतिले नेपालको आर्थिक पाटोलाई र विशेष वित्तीय संस्थाहरूलाई असर परिरहेको छ। बीमा क्षेत्रलाई पनि यसले असर गरिरहेको हुन्छ । कुनै पनि आगलागीमा परेर भएको क्षतिको लागि बीमा गरिएको भए बीमा दाबी गरिन्छ।

तर, बिमा क्षेत्रमा आगलागीसम्बन्धी दाबीको तथ्यांक व्यवस्थित रूपमा राखिएको छैन। न त बिमा उद्योगले आगलागीको जोखिमलाई व्यवसायमा ढाल्न सकिरहेका छन्। वर्षेनी अर्बौं रुपैयाँभन्दा बढीको धनजन क्षति हुने आगलागी बीमा उद्योगलाई व्यवसायको सुनौलो अवसर बन्नुपर्ने हो। तर, भौतिक सम्पत्तिमा आगलागीको बीमामा कम्पनीहरूले पनि जोड दिन सकिरहेका छैनन् । यसबाहेक भएका बीमामा परेको दाबी रकम समेत कम्पनीहरूमा राखिएको छैन । कम्पनीहरूलाई यस प्रकारको तथ्यांक राख्न बिमा प्राधिकरणले पनि भन्न सकिरहेको छैन।

नेपाल बीमा प्राधिकरणले आगलागीबाट हुने बीमा दाबीको डाटा व्यवस्थित रूपमा राख्न नसक्दा यो क्षेत्रबाट नीतिगत सुधार र जोखिम न्यूनीकरणका प्रयासहरू प्रभावकारी हुन सकेको छैन । बीमा कम्पनीमा पर्ने दाबीको डेटा फरक रूपमा सङ्लन गरी मूंल्याकन गर्न सकिने हो भने सबै जोखिमको पूर्व योजना बनाउन सकिन्छ ।

नेपाल बीमा प्राधिकरणका निर्देशक शुशीलदेव सुवेदीले डाटा व्यवस्थापनको लागि नयाँ प्रणाली विकासको प्रक्रिया सुरु भएको बताएका छन् । ‘हामीले डिजिटल प्लेटफर्ममार्फत तथ्यांक संकलन गर्ने योजना बनाएका छौं । विभिन्न रूपमा डेटाको सकंलन र व्यवस्थित रूपमा राख्ने तयारी पनि भइरहेको छ,’ सुवेदीले भने, ‘बीमा क्षेत्रलाई थप पारदर्शी र प्रभावकारी बनाउन हामी सबै लागिरहेका छौं ।’

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बमा दाबी भुक्तानी भएको तथ्यांक राखिएको भए पनि त्यसमा कुनै पनि ‘सेक्टरवाइज’ खुलाइएको छैन । चालु आव २०८१/८२ को चैत्र मसान्तसम्म जीवन बीमकहरुले भुक्तानी गरेको दाबीको संख्या २ लाख ८१० रहेको छ जस अन्तर्गत ४५ अर्ब करोड भुक्तानी भएको छ । त्यसैगरी, निर्जीवन बीमकहरुबाट चालु आव २०८१/८२ को चैत्र मसान्तसम्ममा कुल १ लाख १ हजार ७१३ वटा दाबी भुक्तानी भएको छ । जस अन्तर्गत १६ अर्ब ६२ करोड भुक्तानी भएको छ भने ३० अर्ब ९४ करोड रुपैयाँको कुल १ लाख चार हजार ८७२ वटा दाबी संख्या भुक्तानी हुन बाँकी रहेको तथ्याकंमा उल्लेख छ ।

अर्बौंको क्षति, छैन प्रभावकारी तथ्यांक
बीमा क्षेत्रलाई नियमन गर्दै आएको नेपाल बीमा प्राधिकरणले केही सुधारात्मक कामलाई अगाडि सारेको छ । तर, पनि डाटा व्यवस्थापनको लागि आवश्यक प्रणाली र जनशक्तिको अभाव रहेको आलोचना हुँदै आएको छ । कुनै पनि क्षेत्रमा भएको समस्यालाई समाधान गर्नको लागि सूक्ष्म रुपको डेटाको आवश्यकता पर्छ ।

डाटा व्यवस्थापनले बीमा क्षेत्रको विश्वसनीयता बढाउनुका साथै उपभोक्तालाई पनि फाइदा पुग्ने बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले भने । उनी भन्छन्, ‘आगलागीको तथ्यांकले कुन क्षेत्रमा बढी जोखिम छ भन्ने पहिचान गर्न सकिन्छ । जसले रोकथामका उपायहरू लागू गर्न सहयोग गर्छ ।’ आगलागीको कारण हुने बीमा दाबी कति भइरहेको छ भन्ने डेटा पनि राख्न सकियो भने क्षति न्युनिकरणको लागि सहज हुने उनको भनाई छ ।

आगलागी बीमा दाबीको डाटा व्यवस्थित गर्न आधुनिक प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाई छ । ‘डाटा संकलन र विश्लेषणले आगलागीको जोखिम न्यूनीकरण, बीमा कम्पनीहरूको दायित्व मूल्यांकन र नीतिगत सुधारमा सहयोग पुग्ने छ,’ उनले भने । यस्तै, बीमा कम्पनीका एक अधिकारीले तथ्यांक संकलनको लागि स्पष्ट मापदण्ड र प्रणाली नभएको गुनासो गरेका छन् । उनी भन्छन्, ‘प्राधिकरणले हामीलाई डाटा माग्छ । तर, कसरी र कुन ढाँचामा बुझाउने भन्ने स्पष्ट निर्देशन दिएको छैन ।’ तथ्यांक व्यवस्थापनको लागि विभिन्न पहल भैइरहेको र अब बिस्तारै सबै क्षेत्र अनुसारको दाबी परेका डेटा उल्लेख हुने उनको भनाई छ ।

वर्षेनी जल्छ अर्बौंको सम्पत्ति
आव २०७६/२०७७ मा आगलागीका कारण चौपाया क्षति १ हजार ३२ वटा, घर क्षति ८१२ वटा, गोठ क्षति ३१३ वटा भएका थिए । यस्तै, उद्योग क्षति ४० वटा, विद्यालय क्षति ६ वटा, सरकारी कार्यालय क्षति ९ वटा र पुल क्षति १ वटा घटना घटेका थिए । जसले गर्दा २ अर्ब २१ करोड ५६ लाख बराबरको रकम क्षति भएको थियो ।

आव २०७७/२०७८ मा आगलागी कारण ४ अर्ब ७ करोड २० लाख रुपैयाँको सम्पत्ति नाश भएको थियो । आव २०७८/२०७९ मा आगलागी कारण २ अर्ब ५१ करोड ८० लाख रुपैयाँको सम्पत्ति नास भएको थियो । आव २०७९/२०८० मा आगलागीका कारण २ अर्ब ४८ करोड २४ लाख रुपैयाँको सम्पत्ति नास भएको थियो । त्यस्तै, २०८०/२०८१ मा आगलागीका कारण २ अर्ब ५७ लाख रुपैयाँको सम्पत्ति नास भएको थियो । चालु आव २०८१/२०८२ को वैशाखसम्ममा आगलागीका कारण १ अर्ब ९७ लाख ६० लाख रुपैयाँ आगलागीमा परेर क्षति भएको प्रहरीले जनाएको छ ।