लघु निर्जीवन बीमकको वैशाखसम्म ७६ करोड ६९ लाख व्यवसाय, नेपाल माइक्रो इन्स्योरेन्स अग्रस्थानमा



काठमाडौं – लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म ७६ करोड ६९ लाख रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक तथ्यांकअनुसार वैशाखसम्म ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ८ हजार ३७६ वटा बीमालेख बिक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन्।

सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ८५ हजार १२१ वटा बीमालेख बिक्री गरेर २१ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ७८ हजार ४५४ वटा बीमालेख बिक्री गरेर १९ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, स्टार माइक्रोले ८३ हजार २२ वटा बीमालेख बिक्री गरेर १८ करोड ३० लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६१ हजार ७७९ वटा बीमालेख बिक्री गरेर १७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।