भावना अवस्थी, काठमाडौं ।
पछिलो समय वाणिज्य बैंकहरूले स्मार्ट फोनमार्फत नै ऋण दिने प्रकिया सुरु गरेका छन् । हालसम्म नबिल, कुमारी, सिटिजन, एनएमबी र लक्ष्मी र इन्भेस्टमेन्ट मेगा लगायत अरु बैंकले पनि फोन लोन योजना सञ्चालन गरिरहेका छन् । यी बैंकहरूका अनुसार यो योजनामा ऋण लिन बैंकमा जानु पर्दैन, धितो पनि चाहिँदैन र डिजिटल फारम भरेका आधारमा लोन लिन सकिन्छ ।
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैकका डिजिटल बैंकिङ प्रमुख बिश्व सिंहले बताएका छन् ।
फोन लोन के हो ?
बैंकिङ्ग सेवाहरुलाई पूर्ण डिजिटल प्रविधियुक्त बनाएर मोबाइलबाटै कर्जा उपलब्ध गराउने बैंकिङ्ग सेवा नै फोन लोन हो । ग्राहकहरुलाई सरल र सहज रुपमा बिना कुनै कागजात तथा भौतिक उपस्थिति बिना कर्जा सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन सुविधा संचालनमा ल्याइएको हो । मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै र तत्कालै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहँदैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पनि पर्दैन ।
ग्राहकहरुले कर्जा लिनको लागि बैंकका शाखासम्म पनि पुगिरहनु पर्दैन । अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पनि पर्दैन । बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले मेगा स्मार्ट बैंकिङ्ग एपमार्फत सिधै कर्जाका लागि आवेदन दिन र कर्जा पाउन सक्नेछन् ।
फोन लोन लिने प्रक्रिया कस्तो छ ?
फोन लोन लिन निकै सजिलो प्रक्रिया छ । बैंकको नियमित ग्राहक जसले मोवाइल बैंकिङ्ग को प्रयोग गर्दछन र मोवाइल बैंकिङ्गमा रहेको फोन लोन अप्लाई मा क्लिक गरेर त्यहाँ लोन लिने रकम लगायतका विवरणहरु भरेर लोन लिन सकिने नबिल बैंकका डिजिटल बैंकिङ्ग प्रमुख परेमेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यो लोन लिनको लागि कुनै कागजी प्रकृया पूरा गर्नु पर्दैन । भौतिक रुपमा बैंकका शाखाहरु धाउनुपर्दैन । फोनमार्फत लोन लिन तोकिएका वा फोन लोन सेवा दिएका बैंकमा खाता अनिवार्य भने हुनुपर्छ ।’ खाता भएर पनि निष्क्रिय ग्राहकले भने फोनमार्फत दिइने लोन प्राप्त गर्न नस्कने उनले बताए ।
कती समयका लागि र कतिसम्म रकम लोन लिन मिल्छ ?
फोन लोन कम्तीमा एक दिन देखि बढीमा एक वर्ष सम्मको लागि लिन सकिन्छ । यसमा एकै पटक तिर्ने र किस्ता बन्दीमा तिर्ने दुई किसिमका विकल्पहरु छन । फोन लोन लिँदा ग्राहकहरुको बैंकिङ्ग कारोबारको आधारमा कम्तिमा तीन हजार देखि बढीमा दुई लाख सम्मको लोन लिन सकिने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख विश्व सिंहले बताए ।
यसले ग्राहक र बैंक दुबैलाई के–कस्तो फाइदा हुन्छ ?
अहिले सबै प्रयोकर्ताहरू डिजिटल प्रविधि बढी प्रयोग गर्न रुचाउने हुँदा र साना–साना कर्जा लिनकै लागि बैंकका शाखा धाइरहनुपर्ने बाध्यताले गर्दा ग्राहकहरुको लागि यो सुविधा निकै नै रुचाईएको विश्व सिंहले बताए । उनले भने, ‘सानो देखि ठूलो रकमसम्मको लोनको माग भइरहेको छ । हामी पनि बिस्तारै आवश्यकता अनुसार कर्जाको सीमा बढाउँदै जाने योजनामा छौँ ।’ यस्तो किसिमको लोन लिँदा ग्राहकहरु बैंक सम्म गईरहनु नपर्ने तथा विभिन्न कागजात हरु बोकेर हिँड्नुपर्ने झन्झट लिनु नपर्ने हुँदा समय र पैसा दुवैको बचत भएको सिंह बताउँछन ।
हालसम्म कति बैंकहरुले सञ्चालनमा ल्याय फोन लोन ?
नेपालमा २०२१ मा पहिलो पटक एफ वान सफ्ट इन्टरनेश्नल (F1 Soft International) सँगको सहकार्यमा फोन लोनको सुरुवात भएको हो । विशेषगरी यही प्रोडक्टको सुरुवाती चरणबाट काम गर्दै आईरहेका सिंह भन्छन, ‘हामीले पनि २०२१ को सुरुवात बाटै फोन लोन सञ्चालनमा ल्याएको हौं । अहिलेसम्म आठ ओटा बैंकले यस्तो किसिमको लोन सुविधा दिएको छन् ।’
हालसालै नबिल बैंकले पनि फोन लोनको सुरुवात गरेको बताउँदै डिजिटल बैंकिङ्ग प्रमुख परमेश्वर श्रेष्ठ भन्छन, ‘डिजिटल युगको प्रवेशसँगै नयाँ पुस्ताहरुको यसमा अभ्यस्तता बढेको छ । सोही अनुसार नयाँ पूस्ता र विशेषगरी युुवाहरुलाई यो प्रोडक्टले बैंकहरुमा नयाँ आयाम ल्याउनेछ ।’
प्रतिक्रिया