ज्ञानु श्रेष्ठ, काठमाडौं ।
यतीबेला हाम्रो हुर्काइ, बढाइ, सिकाइ–पढाइ, व्यापार व्यवसाय, मनोरञ्जन सबै डिजिटल रुपमा नै हुन थालेको छ । यातायातका साधन चड्नका लागि आजभोली हामी बस स्टेसन पुग्नुपर्दैन, फोनबाटै टुटल, पठाओ, इन ड्राइभरजस्ता राइड सेयरिङ्ग सर्भिसमा अर्डर गर्दा घरमै सेवा दिन आइपुग्छन् । खाना पकाउन समय भएन वा जाँगर चलेन भने खाना घरमै ल्याइदिने भोज, फुडमान्डुलगायत एप्समा अर्डर गर्दा आईहाल्छ । घरै बसेर सेयर कारोबार मात्र होइन, बैंकिङ्ग सुविधाका लागि दर्जनौँ एपहरु उपलब्ध छन ।
आवश्यक छ त केवल भरपर्दो इन्टरनेट पहुँच, स्मार्ट फोनको उपलब्धता र डिजिटल सीप र क्षमता । अहिले हरेक मानिसहरू कम्प्युटर, टीभी, मोवाइल, ट्याब्लेट आदि डिजिटल उपकरणको प्रयोग गर्दछन । इन्टरनेटको सहयोगमा यी माध्यमहरूबाट इमेल, फेसबुक, युट्युब, ट्विटर, इन्ष्टाग्राम, ह्वाट्सएप, गुगल जस्ता सामाजिक सञ्जालहरुको प्रयोग गर्न सकिन्छ । यसले मानव जिवनमा अत्यन्तै सहजता दिलाएको छ । यी निजी कम्पनीबाट नियन्त्रित र सञ्चालित भए पनि यिनीहरूले प्रदान गर्ने सेवा सार्वजनिक छन् । यसो भन्दैमा डिजिटल र साइबर स्पेस सधैँ सुरक्षित छ र यसले मानवअधिकार प्रवद्र्धनमा सहयोग मात्र गर्छ भन्ने पक्कै होइन । मानिसले व्यक्तिगत लाभका लागि यी सुविधाको दुरुपयोग गर्दा संसारभर अपराध बढेर गएका छन् । डिजिटल कारोबार गर्नेहरूको संख्या बढेसँगै ठगी धन्दा चलाउने हरुको संख्या उत्तिकै फस्टाएको छ । ० ७८/७९ मा २८ करोड ९ लाख ४२ हजार ठगी भएको थियो भने चालू आवको पाँच महिनामै साढे ३२ करोड ठगी भएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै क्रिप्टोकरेन्सीको नाममा र ह्याकिङबाट ठगी भएको छ । त्यस्तै, फेसबुक, टिकटक फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल, अनलाइन बैंकिङ्ग, अनलाइन सपिङ्ग, अनलाइन गेमिङ्ग, इमेल, अनलाइन पेमेन्टलगायत माध्यमबाट ठगी भएको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता पशुपति कुमार रायले बताए । उनका अनुसार ०७६/७७ देखि ०७९ को मंसिर मसान्तसम्म डिजिटल प्लेटफर्ममार्फत ठगी भएको भनेर १४ सय २९ उजुरी परेका छन् नेपाल प्रहरीको रेकर्डमा सबैभन्दा धेरै गत आर्थिक वर्ष ०७८/७९ मा ७ सय १४ उजुरी परेको प्रवक्ता रायले बताए । सो वर्ष २८ करोड नौ लाख ४२ हजार ठगी भएको र चालू आर्थिक वर्षको ५ महिनामा मात्रै ६ सय ६ उजुरी परेकामा ३२ करोड ३८ लाख ३१ हजार ठगी भएको उनले बताए । ०७६/७७ र ०७७/७८ मा क्रमशः ६९ र ४० उजुरी परेकामा ६९ लाख ६५ हजार र दुई करोड ४५ लाख ६९ हजार ठगी भएको उनले बताए ।
तथ्यांकअनुसार अनलाइनमार्फत हुने ठगीको आकार दुई वर्षयता बढेको र उनले बताए । अहिले दिनमा ३ देखी ४ जना अनलाईन ठगीबिरुद्ध उजुरी दिने आउने उनले थपे । मानिसहरु अनुचित प्रलोभनमा परेर यसको सिकार भएको उनले बताए । अनुचित पलोेभनमा नपर्ने ,सामाजिक संजालमा आफ्नो के कती कुरा राख्ने नराख्ने भन्ने कुरामा सजक रहने, अपरिचित मानिसलाई विभिन्न सामाजिक संजालमा साथि नबनाउने गरियो भने अनलाइन ठगीबाट बच्ने सकिने रायले सुझाव दिएका छन् ।
अनलाइनबाट हुने ठगी इन्टरनेशनल अपाराध भएका कारण कुन देशमा बसेर ठगी गरिरहेका छन भनेर पत्ता लगाउन गाह्रे पर्ने पनि उनी बताउँछन् । उनी भन्छन, ‘अनलाइन बाट कुन देशमा बसेर ठगी गरीरहकेको छ भन्ने कुरा एकिन गर्न गाहा्रे नै हुन्छ, मान्छे नेपालमा नै भएर जहाँपनि देखाउन सक्ने अबस्था आउँछ । तर निश्चित ठाउँमा बसेर ह्याकिङलगायतका क्रियाकलाप गरेका हुन्छन, जुन लोकेसन पत्ता लगाउन प्रहरीलाई तीन दिन लाग्छ । तर तीन दिनसम्म सम्बन्धित अभियुक्तले लोकेसन नै परिवर्तन गर्छन ।’ नेपालबाहेक अन्य मुलुकबाट गरिने ठगीमा त पक्राउ गर्नै नसकिने उनको भनाई छ । नेपालबाटै ठगीएको रकम फिर्ता गर्न सकिने भए पनि विदेशबाट ठगीएको रकम फिर्ता गर्न नसकिएको उनी बताउँछन् । ‘नेपालदेखि हुने ठगीमा ८० प्रतिशतसम्म फिर्ता हुने गर्छ । तर, विदेशबाट भएको ठगीको रकम फिर्ता गर्न सकिएको छैन।’ उनले भने ।
के गर्दै छ राष्ट्र बैंक ?
अनलाइन माध्यमबाट ठगी बढेपछि राष्ट्र बैंकले पनि रोकथामका गतिविधि गर्दै आएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेल बताउँछन् । उनी भन्छन, ‘राष्ट्र बैंकको वेवसाइटमै यस्ता गुनासा गर्न गुनासो पोर्टलको व्यवस्था गरेका छौँ ।’ त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू र वालेट कम्पनीमा टोल फ्री नम्बर लगायत माध्यमबाट ग्राहकका समस्या सुन्ने व्यवस्था पनि गरेको उनी बताउँछन । विशेषगरी बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी र भुक्तानी प्रणाली,सिस्टको विकास गर्न, सञ्चालकहरूलाई फिचर्स तथा प्रोडक्टको क्षमता बढाउन र सुरक्षित बनाउन जोड दिँदै आएको छौँ’ उनले भने । अनलाइनमार्फत ठगी गर्नेको सख्या बढेको भए पनि विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्नेको संख्या पनि बिगतको वर्षको तुलनामा उल्लेखीय रुपमा वृद्धि भएको उनले बताए । अनलाइनमार्फत हुने ठगी नियन्त्रण गर्न गोष्टी, बैंकिङ्ग शिक्षा, लघुनाटक, जिंगल, सचेतना, गुनासो पोर्टल, लगायतका सामग्री पनि प्रकाशन तथा प्रसारण गर्दै आएको उनले बताए ।
अनलाइन कारोबार कति सुरक्षित ?
बैंकिङ्ग कारोबार गर्न विगतको परम्परागत हिसाबले जति सजिलो छ अहिले त्यती नै सहज र सवल पनि छ । तर सुरक्षा चुनौती भने दिन प्रतिदिन थपिँदै गइरहेको छ । अनलाइन कारोबार गर्न नजान्दा प्राविधिक जानकारी नहुँदा, लापरवाही रुपमा चालाउँदा असुरक्षित हुेने कुरा पक्का छ । त्यसैले आफ्ना संयन्त्रहरु, आफ्ना उपकरणहरु पासर्वडहरु, ओटिपी कोडहरु, युजर आइडीहरुलाई संरक्षण गर्दा सुरक्षित रहने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेल बताउँछन् ।
महानगरीय प्रहरी प्रधान कार्यलायको तथ्यांक हेर्ने हो भने अनलाईन ठगी गरेर फरार हुने घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । पछिल्लो समय इमो, भाईवर, वाट्सएप जस्ता सामाजिक संजाल मार्फत लोटरी चिठ्ठा परेको भनेर फोन आउने र सो पैसा पाउनको लागि केहि रकम चाहिने भन्दै पैसा माग्ने र रकम लिएपछि फरार हुने घटनाहरु सामाजिक संजाल तिर देख्न सकिन्छ । प्रविधिमा पहुँच वृद्धि भएसँगै अनलाइन ठगीका संख्यामा वृद्धि भएको महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइराला बताउँछन् ।
चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने गरेका घटनाहरू धेरै भएको उनको भनाइ छ । यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू नै पीडित हुने देखिएको उनको भनाइ छ । ठगी गिरोहले विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमा लिंकहरू पठाएका हुन्छन । त्यस्ता लिंक खोल्नेबित्तिकै प्रयोगकर्ताको व्यक्तिगत विवरण उनीहरूसम्म पुग्छ । त्यसैले जथाभावी आउने लिंक कतिपय नखोल्न उनले सुझाव दिएका छन् ।
प्रतिक्रिया