सम्भव छ बीमा प्राधिकरणको ‘रिफर्मेशन’ ?


काठमाडौं – युवा अध्यक्षकारुपमा नेतृत्व सम्हालेका शरद ओझाले बिहीबार सम्पन्न ५७औं वार्षिकोत्सवमा नेपाल बीमा प्राधिकरणको ‘रिफर्मेशन’को योजना सुनाए । स्थापनाको ६ दशक भइसक्दा पनि पुरानै ढर्रा, परम्परावादी सोच, अव्यवसायीक्ता तथा अर्पादर्शीता लगायतले प्राधिकरण गाँजिएको छ । स्थापनादेखि लामो समय समितिको भूमिका रहेर सोचेअनुरुप काम गर्न नसकेपछि सरकारले शक्तिशाली भूमिकासहित प्राधिकरण बनाएको थियो ।

बीमा कम्पनीलाई नियमन गर्दै व्यवसाय विस्तारका लागि नीति गत निर्णय गर्नुपर्ने र सर्वसाधारण तथा उपभोक्तालाई सहयोग गर्नुपर्ने अभिभारा छाडेर कम्पनीहरूको संरक्षणमा प्राधिकरण छ । यी नै समस्या र चुनौतीलाई जरैदेखि उखेलेर फाल्ने घोषणा अध्यक्ष ओझाले गरेका हुन् । बीमा प्राधिकरणभन्दा केही समयमात्रै अघि स्थापना भएको नेपाल राष्ट्र बैंक राष्ट्रको महत्त्वपूर्ण निकाय र अंगकारुपमा छ ।

तर, प्राधिकरणको पुरानो सोच र शैलीबाट माथि उठ्न नसक्दा राष्ट्र बैंकभन्दा तल रहनु परिरहेको छ । यही अवस्थाबाट माथि उठाउने लक्ष्य सुनाउँदै अध्यक्ष ओझाले भने, ‘न्यून जोखिम भएका बीमकहरुमा लक्षित क्षेत्रमा मात्रै बढी केन्द्रित हुने गरी सुपरिवेक्षकीय स्रोतसाधनको उच्चतम सदुपयोग गर्न जोखिममा आधारित सुपरिवेक्षण महत्त्वपूर्ण हुन्छ ।’

यस्तै, प्राधिकरणलाई शक्तिशाली बनाउने लक्ष्यसहित अध्यक्ष ओझाले साउन १ गते बाट लागू हुने गरी एकीकृत निर्देशन बनाउने, इजलास सुरु गर्ने लगायत योजना सुनाए । बीमा क्षेत्रमा निकै लामो समय देखि रहेका कानूनी अस्पष्टता हटेर बीमा ऐन, २०७९ र बीमा नियमावली, २०८१ लागू भएसँगै एक बलियो कानूनी आधार सिर्जना भएको बताए । १६० भन्दा बढी दक्ष जनशक्ति भएको प्राधिकरणको नियामकीय भूमिका तथा संस्थागत सुधारका लागि कर्मचारीको दक्षता अभिवृद्धिका कार्यक्रमहरू अघि बढाइएको समेत उनको भनाई छ ।

यसबाहेक, अध्यक्ष ओझाले अहिलेको कर्मचारीतन्त्रको संरचना नै फेर्ने बताएका छन् । प्राधिकरणमा कर्मचारीतन्त्रको पुरानो सोच र शैली फेर्न सकेमा कामले गति लिनेमा ढुक्क देखिएको अध्यक्ष ओझाले भने, ‘हालको संगठन संरचनालाई थप प्रभावकारी बनाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचनालाई पुनरावलोकन गरिनेछ ।’

यस्तै, बीमा कम्पनीहरूको अहिलेको अवस्था र सोचाइमा समेत हस्तक्षेपकारी भूमिका खेल्ने संकेत अध्यक्ष ओझाले देखाएका छन् । बीमा सम्बन्धी सूचनाको संकलन तथा भण्डारण गर्न बीमा सूचना केन्द्र स्थापनाको कार्य अघि बढी रहेको उनले जानकारी दिए । ‘यसबाट बीमालेख निर्माण, बीमा सम्बन्धी अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने तथा बीमा ठगी, जालसाजी, किर्ते लगायत बीमा कसुरको अनुसन्धान, तथा नियन्त्रण गर्न सहयोग पुग्नेछ ।