बैंकिङ्ग समाचार, काठमाडौं ।
चीनमा हजारौं किसानहरुले नयाँ खालको धान उमार्न थालेका छन् । यसले पुराना वैज्ञानिकहरूको सपना साकार पारिदिएको छ । यो सदाबहार खालको धान हो । यसलाई हरेक सिजनमा लगाउनै पर्दैन । माटोमा रहेको पुराना जराबाटै वर्षौ वर्ष धान फलिरहन्छ ।
चीनको कुनमिङस्थित युनान विश्वविद्यालयका अनुसन्धाताहरुले यो धान उमार्न दुई दशकभन्दा लामो समय काम गरेका थिए । नेचर सष्टेनबिलिटी जर्नलमा यो सफलताको कथा सार्वजनिक गरिएको छ ।
यो सदाबाहार धानका लागि खासै धेरै मेहनत चाहिन्न । यसले सोही परिमाणमा धान उत्पादन गर्न कृषकहरूले गर्नुपर्ने मेहनतलाई पनि नाटकीय ढंगले घटाउँछ । धानको वर्षौ पुराना जराको वातावरणीय लाभ पनि छ । तर यो लाभ पूष्टि गर्न वैज्ञानिकहरुलाई थप डेटा चाहिन्छ ।
यो साच्चै नै ठूलो कुरा हो भन्छन् इलिनोइस विश्वविद्यालयका वनस्पति अनुवांशिकीविद् एरिक स्याक्स । यसले हाम्रो कृषिसम्बन्धी सोचाईको तरिका फेर्ने उनको भनाई छ । नयाँ अध्ययनमा स्याक्सले चिनियाँ वैज्ञानिकहरुसँग सहकार्य गरेका थिए । स्याक्स समेत केही वैज्ञानिहरुले यसले कृषि क्षेत्रको भावी परिदृश्यलाई परिवर्तन गर्ने सदाबाहार धान बालीको कल्पना साकार पार्ने आशा गरिएको छ ।
यसले कमजोर माटोलाई जोगाएर राख्ने छ भने प्राकृतिक पर्यावरणलाई पनि समृद्ध बनाउनेछ । तर गहुँ र मकै जस्ता अन्य प्रमुख अन्न बालीमा यो सफलता दोहोर्याउन सकिनेमा भने अन्य केही वैज्ञानिकहरुले शंका व्यक्त गरेका छन् ।
चिनियाँ वैज्ञानिकहरुले सन् १९७० को दशकमै सदाबाहार धान बालीको विकास गर्न खोजेका थिए । तर उनीहरु असफल भए । क्रस पोलिनेटिङ गरेर उनीहरुले सन् १९९६ मा महत्वपूर्ण ब्रेकथ्रु हासिल गरे । तर धानको बिउ जोगिएन । वैज्ञानिकहरुले यसबाट नयाँ, हाइब्रिड धानको बोट उमार्न टिस्यु कल्चर नामक प्रयोगशाला विधिको प्रयोग गरे । यो धानको बोटमा स्थायी भएर लामो समयसम्म बाँच्ने जरा थियो । तर यसलाई अन्य धानको बोटसँग क्रसब्रेड पनि गर्न सकिन्थ्यो ।
युनान विश्वविद्यालयका अनुसन्धान समूहका नेता शिलाई चाङ र नउको सहकर्मीहरुले हाइब्रिडाइजेशनबाट धानका हजारौं बिउ निकाले । उच्च गुणस्रतको पर्याप्त धान फलाउन सकिने सदाबाहार धानको बिउ निकाल्ने कोशिश गरे । यस क्रममा उनीहरु पटक पटक असफल भए । वैज्ञानिहरुले धान नभएर झार मात्रै रोपिरहेको हो कि भनेर स्थानीय किसानहरुले सोच्न समेत थालिसकेका थिए ।
तर सन् २०१८ मा अन्ततः सदाबाहार धानको प्रजाति हात पर्यो । यसलाई चीनका किसानहरुमाझ बाँडियो । अन्य जातका धान चाँहि २ वर्षपछि बजारमा गए । अनुसन्धाताहरूका अनुसार सन् २०२० यता झन्डै ११ हजार साना किसानहरूले ९ हजार एकड क्षेत्रफलमा सदाबाहर धान रोपेका छन् । एक वर्षपछि नयाँ जातको धान लगाउने किसानको संख्या चौब्बर भयो अनि धान खेति गरिएको क्षेत्र ३८ हजार एकडमा पुग्यो ।
चाङका अनुसार कम मिहेनत लाग्ने भएकोले कयौं किसानहरू सदाबाहार धान खेतिप्रति आकर्षित भएका छन् । चीनको केही धान उत्पादन गर्ने क्षेत्रमा युवाहरू धान खेतिबाट टाढिरहेका छन् । बाँकी सबै किसान बुढा छन् । सदाबाहार धान खेतीले उनीहरुलाई धान खेतिका लागि गर्नु पर्ने मेहनल घटाउन अनुमति दिएको छ ।
हरेक वर्ष धानको बियाड राख्ने, बिउ खेतमा लगाउनु पर्ने झन्झट र यसको लागि गर्नु पर्ने खर्च घटेको छ । यसले धान खेति गर्ने खर्च आधा कम गर्ने युनान विश्वविद्यालयका अनुसन्धाताहरु बताउँछन् ।
तर नयाँ धानले सधैं पर्याप्त उत्पादन भने नगर्ने देखिएको छ । खेतमा गरिएको परीक्षणहरुमा धान फल्न थालेको चार वर्षपछि उत्पादन घट्न शुरु हुने पाइएको छ । यो भनेको आठ सिजनको धान खेति हो । अर्थात् हरेक ४र४ वर्षमा भने किसानहरुले धानको बिउ फेरि लगाउनु पर्ने हुन्छ ।
चीनको कूल धान खेतिमा सदाबाहार धान खेतिको हिस्सा गन्नै नसक्ने गरी कम छ । यसको खेति कति व्यापक होला भनेर अहिले नै अनुमान गर्नु अति नै छिटो हुने चाङको भनाइ छ । पानी टन्नै भएको ठाउँमा यो सजिलो फल्छ । कम पानी भएको ठाउँमा पनि यो बच्छ । तर हिउँ नै जम्ने चिसोमा भने यी धानका बोट बाच्दैनन् । सिँचाई कम भएका पहाडी क्षेत्रका लागि यो सबैभन्दा ठूलो वातावरणीय वरदान हुन सक्छ ।
फिलिपिन्सले सन् १९९० को दशकमा पहाडी क्षेत्र, सुख्खाले भेटिहाल्ने ठाउँमा सदाबाहार धान बालीको विकास गर्न खोजेको थियो । तर प्रगति निकै सुस्त भएको अनि रकम अभावका कारण यो कार्यक्रम हटाइयो ।
स्याक्स समेत केही अनुसन्धाताका लागि सदाबहार धानका जातले अहिलेका मुख्य बालीको लागि सदाबाहार विकल्प सृजना गर्न सकिन्छ कि भन्ने आशा देखाएको छ । गहुँ, धान र मकै वर्षेनी लगाउनु पर्छ । यिनै बालीले शताब्दीऔं देखि मानवहरुलाई बचाइरहेको छ, जोगाइरहेको छ । तर यसलाई उमार्ने क्रममा वातावरणमा भारी क्षति भएका छन् । सदाबाहार धान बालीले यो समस्या कम गर्ला कि ?
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया