राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि


चितवन– आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा १४ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

विभागले यस वर्ष १५ अर्ब ७० करोड १० लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको हो । विभागले गत वर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलनका लागि लक्ष्य तोकेको थियो ।