काठमाडौं – दीपक थापा नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) बनेका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयअनुसार थापा नेपाल प्रहरीको ३१औं आईजी बनेका हुन् । वर्तमान महानिरीक्षक वसन्त बहादुर कुँवर सेवानिवृत्त बनेसँगै दुई प्रतिस्पर्धीलाई उछिनेर थापा सेवामा छिरेकाे ३० वर्षमा नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका हुन् ।

थापासँगै एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी समेत आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रीपरिषद् बैठकले उनीहरुलाई छाडेर प्रहरीको नेतृत्वको जिम्मेवारी थापालाई दिएको हो । थापा महानिरीक्षक बन्नुअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्वमा थिए ।
यसबाहेक, प्रतिस्पर्धामा रहेका अन्य दुई एआईजीभन्दा थापा वरिष्ठतम् समेत हुन् । यससँगै थापाले आगामी ६ महिनासम्म ७९ हजारको संख्यामा रहेको नेपाल प्रहरीको फौजको नेतृत्व सम्हाल्ने छन् ।

को हुन् थापा ?
आईजीपीमा नियुक्त भएका थापा २०५१ साल चैतमा प्रहरी निरीक्षक (इन्सपेक्टर)कारुपमा सेवामा प्रवेश गरेका थिए। उनीसँगै नेपाल प्रहरीको १०८औं ब्याचमा छिरेका ५२ जनामध्ये थापा एक हुन् । थापासँगै सो ब्याचका १६ जना विशिष्ट श्रेणीसम्म पुग्न सफल बने, जसमध्ये ९ जना आजैदेखि सेवानिवृत्त बने ।

सीआईबीमा कार्यरत एआईजी थापाले आफ्नो ‘करिअर’को ‘इन्स्पेक्टर’देखि एआईजीसम्मको यात्राका क्रममा प्रहरीको विभिन्न २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । हाल सीआईबीको नेतृत्वमा रहेका उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको नेतृत्व सम्हालिसकेका छन् ।

प्रशासन विभागमा रहँदा उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत समेत भएका थिए । यसबाहेक, थापासँग प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग, प्रधान कार्यालयकै आर्थिक प्रशासन महाशाखा र बागमती प्रदेश प्रमुखको नेतृत्व अनुभव समेत छ । यसबाहेक, एसपी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै विभिन्न जिल्ला प्रहरी प्रमुखको भूमिकामा समेत थिए ।
थापा २०७९ फागुन २६ मा एआईजीमा बढुवा भएका थिए । त्यसअघि २०७० चैत ६ को मन्त्रीपरिषद् बैठकले थापालाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । डीआईजी बनेको ११ वर्षपछि थापा प्रहरीको सर्वोच्च पदमा पुगेका हुन् ।
प्रतिक्रिया