काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सबै पालिकामा खाद्य बिक्री डिपो स्थापना गर्ने भएको छ । कम्पनीले खाद्य बिक्री डिपो स्थापना गरी स्थानीय उत्पादन खरिद गरी बजार प्रवर्द्धन गर्ने योजना अघि बढाएको हाे। जसका लागि खाद्यले हालसम्म कर्णालीका ७९ मध्ये ४० पालिकासँग खाद्यान्न आपूर्ति व्यवस्थापनसम्बन्धी समझदारी (एमओयू) गरिसकेको छ ।
दुर्गम क्षेत्रमा सहज र नियमित खाद्यान्न उपलब्ध गराउन खरिद तथा बिक्री कक्ष स्थापना गर्न लागिएको खाद्यले जनाएको छ। यसले स्थानीय उत्पादनको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरणलाई प्रभावकारी बनाउने अपेक्षा कम्पनीले लिएको छ ।
खाद्यले आर्थिक वर्ष २०७९/८० देखि हुम्ला र जुम्लाबाट चिनो, कागुनो, सिमी, फापर, उवा तथा मार्सी चामल खरिद गर्दै आएको छ। किसानलाई उचित मूल्य प्रदान गर्न पालिकाले अनुदान थप्ने व्यवस्था मिलाएको छ । खाद्यले १७५ रुपैयाँ प्रतिकिलोमा चिनो खरिद गर्दा पालिकाले किसानलाई १० रुपैयाँ थप अनुदान दिँदै १८५ रुपैयाँ उपलब्ध गराएको छ।
कम्पनीले गत वर्ष हुम्लाबाट ३ हजार ४६ किलो चिनो, ४ हजार ८ सय किलो कागुनो, १ हजार किलो सिमी, २ हजार किलो कोदो, र १ सय किलो उवा खरिद गरेको थियो। खाद्यले बजार मूल्यभन्दा कम दरमा रैथाने बाली बिक्री गर्ने भएकाले ग्राहकको आकर्षण बढेको छ। पालिकामा डिपो स्थापनापछि ठेकेदारको अनियमितता रोक्ने, खाद्यान्न सहज रूपमा उपलब्ध गराउने र विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य खाद्यले राखेको छ ।
कर्णाली प्रदेश सरकारले पनि खाद्य कम्पनीसँग सहकार्य गरी रैथाने उत्पादनको बिक्री वितरणलाई प्रवर्द्धन गर्ने तयारी गरिरहेको छ। प्रदेश सरकारले खाद्य खरिदका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्टाएको छ भने १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने लक्ष्य राखेको छ।






About Us
प्रतिक्रिया