वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा ६ जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टाेलीले साे ठगी संलग्न भएकाे आरोपमा ६ जनालाई प्रकाउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका– ४ घर भई काठमाडौं महानगरपलिका– १६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिक– ३ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका-६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका- १ घर भई काठमाडौं बुढालिकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु रहेका छन्।

पक्राउ पर्नेमध्ये अष्ट्रेलिया पठाइदिने भन्दै पीडितहरुबाट सरुले २ लाख ५० हजार रूपैयाँ ठगी गरेकी थिइन्। त्यस्तै, रेखाले जापान पठाइदिने भन्दै ४ जना पीडितहरूबाट १३ लाख २ हजार रूपैयाँ, रवि, ललित र दिपेशले अमेरिकका पठाइदिने भन्दै कमशः १४ लाख रूपैयाँ, ५३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।