इन्भेष्टमेन्ट कम्पनीहरु धितोपत्र बोर्डमा सूचिकृत हुन बोर्डको निर्देशन


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्भेष्टमेन्ट कम्पनीहरु बोर्डमा सूचिकृत हुन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम २० को व्यवस्था बमोजिम बोर्डमा सूचिकृत हुन निर्देशन दिएको हो ।

धितोपत्र बोर्डले बोर्डमा सूचिकृत हुनका लागि निवेदन पत्र, कार्यकारी प्रमुखको विवरण, संचालक समितिको विवरण, कम्पनी संचालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनीको संचालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा दिएको अख्तियारी कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र, कम्पनीको वार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र, कम्पनीको चुक्ता पुँजी खुल्ने कागजात तथा विवरण माग गरेको हो ।

नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय गरेको छ ।