मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् ।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरुमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ । अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । 

अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरुको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रुपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरु निर्धारित रुपमा हुने लेखेका छन् ।

‘चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ’, उनले मार्च ४ को सन्दर्भमा भने । यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरेका थिए । यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्यो ।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागूपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् । फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने अधिकारीले बताए ।

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे । ‘चीन यसको दृढतापूर्वक विरोध गर्दछ र सम्बन्धित जवाफी कदमहरु चालेको छ’, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि (युएसटिआर) जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने । ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार ट्रम्पको धम्की शुल्कबाट बच्न उनीसँग कुरा गर्ने आशा गरेको बताए । एक उच्चस्तरीय मेक्सिकाली प्रतिनिधिमण्डल सम्झौताको खोजीमा वासिङ्टनमा छ ।

साथै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अधिकारीहरुले अमेरिकी करहरु रोक्न चौबीसै घण्टा काम गरिरहेको तर अर्को हप्ता उपायहरु लागु भएमा ‘तत्काल’ प्रतिक्रिया हुने बताए । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने फेन्टानिल र कागजातविहीन आप्रवासीहरुको एक प्रतिशतभन्दा कम क्यानाडाको सीमाबाट आउने कुरामा ट्रुडोले बारम्बार जोड दिएका छन् । ट्रम्पको धम्कीले प्रमुख निर्यातक देशहरुमा कम्पन पैदा गरेको छ । टोकियोमा केही समयका लागि तीन प्रतिशतको गिरावटसँगै शुक्रबारको सुरुमा एसियाली बजारहरु रातो रङमा थिए ।