‘प्रविधिको प्रयोगसँगै ‘पेमेन्ट डेटा’को सुरक्षा चुनौतीपूर्ण बन्दैछ’


विश्वव्यापीरुपमा ‘डिजिटल पेमेन्ट’ प्रणालीको विकास भइरहेको छ । दक्षिण एसियाली मुलुकहरूमा समेत ‘रियल टाइम पेमेन्ट’, ‘डजिटल पेमेन्ट’ तथा क्यूआरमा आधारित लगायत भुक्तानीका नयाँ–नयाँ माध्यम विकसित भइरहेका छन् । उल्लेख्य मात्रामा अनलाइनबाट भुक्तानी बढ्दा नयाँ जोखिम र चुनौती समेत आइरहेका छन् । ‘पेमेन्ट डेटा’ चोरी तथा चुहावट हुने, ह्याकरको हमलामा पर्ने लगायतका चुनौती र जोखिम देखा परिरहेका छन् । यसलाई न्यूनीकरण गर्नका लागि विभिन्न मुलुकले आ–आफ्नै तवरबाट काम गरिरहेका छन् भने साझा चुनौती र जोखिम आपसमा आदानप्रदान गर्दै समाधानको उपाय समेत खोज्दै छन् ।

‘डिजिटल पेमेन्ट’मा दक्षिण एसियाकै ठुलो बजारकारुपमा रहेको भारतले समेत यस विषयमा काम गर्दै आइरहेको छ । भारतले ‘पेमेन्ट काउन्सिल अफ इण्डिया (पीसीआई) सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (एसएससी) नै स्थापना गरेर भुक्तानीका मापदण्ड बनाइरहेको छ । पीसीआई एसएससीका इण्डिया, दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय निर्देशक नितिन भाटनगरसँग डिजिटल भुक्तानीमा देखिएका पछिल्ला चुनौती, साइबर आक्रमणका जोखिम र यसबाट बच्ने उपायका विषयमा बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश:–

पेमेन्ट काउन्सिल अफ इन्डिया (पीसीआई) सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (एसएससी) के हो ? यसबारे बताइदिनु न।

पेमेन्ट काउन्सिल अफ इन्डिया (पीसीआई) सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (एसएससी) भनेको विश्वव्यापीरुमा काम गर्ने एउटा फोरम हो । जसले ‘पेमेन्ट डेटा’ सुरक्षित बनाउनका लागि ‘स्ट्याण्डर्ड’ बनाउन काम गर्छ । भिजा र मास्टरकार्ड लगायत भुक्तानी सेवा प्रदायकसँग पनि मिलेर काम गर्दै आइरहेका छौँ । हाम्रो भूमिका भनेको सुरक्षितरुपमा भुक्तानी सेवा उपलब्ध र व्यवस्थापन गराउने हो । यस्तै, पेमेन्ट काउन्सिल अफ इण्डियालाई मापदण्ड बनाउनका लागि सहयोगी भूमिका समेत यसले खेल्छ ।

म पीसीआई एसएससीमा ७ वर्षदेखि कार्यरत छु । हामी विभिन्न स्टेकहोल्डर्ससँग मिलेर काम गर्छौँ । भारतमा एनपीसीआईसँग मिलेर विभिन्न काम गरिरहेका छौँ । यस्तै नेपालमा एनसीएचएलसँग सहकार्य गरिरहेका छौँ । यी निकायसँग हामी दक्षिण एसियाली क्षेत्र र सम्बन्धित देशमा के भइरहेको छ भन्नेबारे जानकारी लिन्छौँ र सुरक्षा मापदण्ड बनाउन सहकार्य गर्छौँ ।

नेपाल र भारतले ‘क्रसबोर्डर’ भुक्तानी सेवा सुरु गरिसकेका छन् । यसआधारमा पीसीआई एसएससीले यस क्षेत्रको पेमेन्ट डेटा सुरक्षित गराउन के कस्ता काम गरिरहेको छ ?

हामी भारतको एनपीसीआई र नेपालको एनसीएचएलसँग मिलेर काम गर्दै आइरहेका छौँ । यसक्रममा यस क्षेत्रका चुनौती पत्ता लगाउने र कसरी समाधान गर्ने भन्नेबारे चिन्तन गर्ने गर्छौँ । हामी चुनौतीसँग यस क्षेत्रको अवसर पनि पत्ता लगाउने कोसिस गर्छौँ। विभिन्न निकायसँग मिलेर काम गरिरहँदा सुरक्षाका मापदण्ड विकसित हुँदैछन् ।

दक्षिण एसियाली क्षेत्रमा ‘फिनटेक’ कम्पनी उदयीमान अवस्थामा छन् । यस्तो अवस्थामा पीसीआई एसएससीले नेपाल र भारतका नियमनकारी निकायसँग मिलेर ‘डिजिटल पेमेन्ट’लाई सुरक्षित बनाउन कसरी काम गर्दै आइरहेको छ ?

पीसीआई एसएससीको भूमिका भनेको मापदण्ड बनाउने र बनाइएको मापदण्डलाई लागू गराउने हो । दक्षिण एसियाली क्षेत्रमा बढ्दो फिनटेकको प्रयोग बढ्दै जाँदा चुनौती र अवसर पनि बढ्दै छ । यही कारण, यस क्षेत्रका नियमनकारी निकायलाई शिक्षित बनाउने काममा हामी लागिरहेका छौँ । हामीले विश्वव्यापी चर्चा बटुलिरहेको ‘पीसीआई डीएसएस’ मापदण्ड बनाइसकेका छौँ । यसबाहेक पीसीआई एसएससीसँग विभिन्न १५ वटा ‘डेटा सेक्युरिटी स्ट्याण्डर्ड’ छन् ।

यही कारण, दक्षिण एसियाली क्षेत्रका नियमनकारी निकायलाई ‘डेटा सुरक्षा’का बारेमा चेतना फैलाउन र जानकारी दिन भूमिका खेल्छौँ । ‘पेमेन्ट इकोसिस्टम’ विभिन्न निकाय हुन्छन् । लाइसेन्स जारी गर्ने निकाय, लिने निकाय, भेन्डर्स, सोलुसन प्रोभाइडर्स, सर्भिस प्रोभाइडर्स र मर्चेन्ट हुन्छन् । यी भिन्न निकायले भिन्न–भिन्न स्ट्याण्डर्ड प्रयोग गर्नुपर्छ । यही कारण, पेमेन्ट डेटा सुरक्षित बनाउनका लागि पीसीआई एसएससीले स्ट्याण्डर्ड बनाउँछ, व्यवस्थापन गर्छ, मार्गदर्शन दिन्छ र कार्यान्वयनका लागि सपोर्ट समेत दिन्छ । तर, हामी पालना चाहिँ गर्दैनौँ । यो काम सर्भिस प्रोभाइडरले गर्छन् ।

दक्षिण एसियाली क्षेत्रमा भुक्तानीसम्बन्धी तथ्यांक बाहिरिने र ‘पेमेन्ट फ्रड’को अवस्था बढ्दो छ । यो क्षेत्रमा साझा चुनौती र समस्याकारुपमा देखा परेको विषय के हो ?

भुक्तानीमा देखिइरहेको फ्रड र ‘डेटा लिक’को समस्या दक्षिण एसियाली मात्रै होइन । यो विश्वव्यापी समस्याकारुपमा देखा परेको छ । यसबाट डिजिटल भुक्तानीमा संलग्न सबैजसो सेवाग्राही प्रभावित बनिरहेका छन् । विश्वव्यापीरुपमा देखा परेको साझा चुनौती भनेको ‘फिसिङ’ नै हो । यस्तै, विभिन्न भाइरस आक्रमण समेत चुनौतीका रुपमा आइपरेको छ ।

पीसीआई एसएससीले यही र यिनै चुनौती न्यूनीकरण गर्न काम गरिरहेको छ । एसएससीले यी आक्रमणबाट प्रयोगकर्ताहरूले आफैलाई बचाउनका लागि स्ट्याण्डर्ड बनाउँदै आइरहेको छ ।

यसका लागि पीसीआई डीएसएस भर्सन ४.० नामक नयाँ स्ट्याण्डर्ड बनाएका छौँ । यसले ‘फिसिङ’ र ‘सोसियो इञ्जिनियरिङ’ अट्याक रोक्न मद्दत गर्छ ।

दक्षिण एसियाली क्षेत्रमा मोबाइल वालेटको प्रयोग बढेसँगै ‘रियल टाइम पेमेन्ट सिस्टम’ समेत बढ्दो अवस्थामा छ । पीसीआई एसएससीले यसबारे कुनै ‘गाइडलाइन्स’ बनाएको छ ?

पीसीआई एसएससीले हालसालै ‘एमपक्स स्ट्याण्डर्ड भर्सन १.१’ सार्वजनिक गरेको छ । यसले मोबाइलबाट हुने पेमेन्टलाई सुरक्षित बनाउन सहयोगी भूमिका खेल्छ । यसबारे थप जानकारी चाहिएमा पीसीआई एसएससीको वेभसाइटमा समेत जान सकिन्छ ।

तपाईको विचारमा दक्षिण एसियामा डिजिटल पेमेन्टको परिदृश्य कसरी विकसित भइरहेको छ ? नेपाल, भारत र बंगलादेशसहितका देशमा ?

भुक्तानीका माध्यमहरू निरन्तर विकसित भइरहेका छन् । यतिबेला हामी भुक्तानीका विभिन्न माध्यम देख्न सक्छौँ । यसमा क्यूआर कोड र कन्ट्याक्ट लेस पेमेन्ट लगायत माध्यम छन् । यी माध्यमले भुक्तानीमा क्रान्ति नै ल्याएका छन् । यही भुक्तानीका माध्यमलाई सुरक्षित बनाउनका लागि पीसीआई एसएससीले मापदण्ड बनाउँदै नियामकलाई चेतना फैलाउने काम गर्छ ।

यस क्षेत्रमा डिजिटल भुक्तानीको मुख्य ‘साइबरसेक्युरिटी’ सम्बन्धी चुनौती के हो ? यसबाट सेवा प्रदायक संस्था कसरी जोगिने हो ?

डिजिटल भुक्तानीको मुख्य चुनौती भनेको यसबारेको साक्षरता नै हो । यस्तै, भुक्तानीसँग सम्बन्धित मापदण्डले कसरी काम गर्छ, मापदण्डले भुक्तानी माध्यमलाई विकसित गर्न कसरी सहयोगी भूमिका खेल्छ लगायतका विषय बुझाउनु पनि मुख्य चुनौती हो । मापदण्डका बारेमा बुझाउन र चेतना फैलाउन हामी निरन्तर काम गरिरहेका छौँ । यसबाहेक पीसीआई एसएससीले निरन्तररुपमा विश्वव्यापी भुक्तानी सुरक्षित बनाउन काम गरिरहेका छौँ ।

‘रियल टाइम पेमेन्ट’ र एआई प्रवर्द्धित भुक्तानी प्रविधिले समग्र भुक्तानी प्रणालीलाई नयाँ आकार दिँदैछ । पीसीआई एसएससीले एआई आधारित प्रविधिलाई सुरक्षित बनाउन स्ट्याण्डर्ड बनाइरहेको छ ?

पीसीआई एसएससीले ग्लोबल पेमेन्ट उद्योगलाई नै सुरक्षित बनाउने लक्ष्यसहित काम गरिरहेको छ । विश्वका विभिन्न मुलुक र क्षेत्रमा पीसीआईले काम गरिरहेको छ । पीसीआईले भविष्यलाई केन्द्रमा राखेर काम गर्दै आइरहेको छ । प्रविधिमा आएको परिवर्तनसँगै पीसीआईको स्ट्याण्डर्ड पनि विकसित भइरहेको छ ।

दक्षिण एसियाली मुलुकले पीसीआई एसएससीसँग ‘साइबर सेक्युरिटी’सँग सम्बन्धित विषयमा कसरी सहकार्य गर्न सक्छन् ?

पीसीआई एसएससीले भारतका एनपीसीआई र नेपालमा एनसीचएएलसँग मिलेर यो विषयमा काम गर्दै आइरहेको छ । यी दुई संस्थासँग सहकार्य गर्दै भुक्तानी प्रणाली, भुक्तानी डेटा र साइबर सेक्युरिटीसँग सम्बन्धित विषयलाई सुरक्षित गर्न लागिरहेको छ। यस क्षेत्रमा देखा परेको साझा चुनौतीलाई आदानप्रदान गर्दै ती चूनाैतीहरुलाई न्यूनीकरण गरेर ‘साइबर सेक्युरिटी’का जोखिम न्यूनीकरण गर्न सकिन्छ ।