सम्पत्ति शुद्धीकरण विभागद्वारा राजस्व चुहावटको कसुरमा ५४ करोड बढीको मुद्दा दायर


काठमाडौं – सम्पत्ति शुद्धीकरण विभाग, ललितपुरले सम्पत्ति शुद्धीकरण विभाग, ललितपुरले अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ । विभागमा दर्ता भएको उजुरीअनुसार, प्रतिवादीहरूले राजस्व चुहावटको कसुर गरी आर्जित रकम नेपालका विभिन्न वित्तीय संस्थामा खाता खोली कारोबार गरेका थिए। साथै, उक्त रकम मुद्दती निक्षेपमा राखी निरन्तर लाभ लिएको र सम्पत्तिको स्रोत तथा स्वरूप परिवर्तन गरी शुद्धीकरण गरेको आरोप छ।

अनुसन्धानका क्रममा अशोक कुमार सिन्हाले कुल ३४ करोड २४ लाख ३१ हजार ४८०.८९ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको प्रमाण भेटिएको विभागको दाबी छ। यस्तै, निवेदिका सिन्हाले १९ करोड ७३ लाख ९९ हजार ९६४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको देखिएको छ।

विभागले दुवै प्रतिवादीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० अनुसार बिगोको दोब्बर जरिवाना र कैद सजायको माग गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा अभियोग पत्र दायर गरेको छ। साथै, प्रतिवादीहरूको नाममा रहेको बैंक मौज्दात, निवेदिका सिन्हाको नाममा रहेको जग्गा, अपार्टमेन्ट खरिदका लागि दिइएको पेस्की रकमसमेत जफत गर्न माग गरिएको छ।