सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनुहुँदैन : शेखर कोइराला


काठमाडाैं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन्। नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता डा. कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुने बताए। ‘सरकारले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ,’ उनले भने।

संसद् सुरु हुनु केही दिनअघि मात्र सरकारले अध्यादेश ल्याएकोमा नेता कोइरालाले आपत्ति व्यक्त गरे। चित्त नबुझेका काममा सरकारलाई खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

यसैगरी, कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउदले जनताका मुद्दालाई केन्द्रीयस्तरको बहसमा ल्याउन प्रेस जगतले काम गरिरहेको बताए। पत्रकार र राजनीतिक दलका कार्यकर्तामा विवेक र संयमता हुन आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गरिनुपर्ने बताए। 

‘सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध र बन्देज गरिनुहुन्न,’ नेता साउदले भने।सांसद राजेन्द्र बजगाईंले प्रेस जगतलाई अंकुश लगाउने गरी आउने कुनै पनि कानुनलाई पारित गर्न नहुने बताए। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारले प्रेस स्वतन्त्रताका साथै नागरिक अधिकार सुरक्षित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए।

महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकार सत्ताको अभिन्न अंग बनेर विचलित हुन नहुने धारणा राखे। भुइँमान्छेको दृष्टिबाट संविधान संशोधनका मुद्दा नउठेकाले यस्ता मुद्दा ल्याउन प्रेस जगतले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

महासंघकी अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी कानुन बनाउन नहुनेमा जोड दिइन्। लोकतन्त्रलाई बलियो बनाउन प्रेस जगतलाई सबल बनाइनुपर्ने उनले बताइन्। पत्रकारलाई न्यूनतम पारिश्रमिक दिलाउन महासंघले पहल गरिरहेको अध्यक्ष शर्माको भनाइ थियो।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले नागरिक स्वतन्त्रताका लागि पत्रकारले खबरदारी गर्नुपर्ने बताए। सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले लोकतन्त्रको सुदृढीकरणका लागि मिडियालाई सबल बनाउनुपर्नेमा जोड दिए। महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयक सरकारले फिर्ता लिनुपर्ने बताए।