काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए ।
इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए । ‘अब केही समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइनस होइन’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक ४ लाख किलो लिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’
इथानोल उत्पादनमा धेरै उद्योगहरू तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले भने ।तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए ।
सन् २०२० मा नै पेट्रोलियम पदार्थको खपत हराएर जाने भनिए पनि अझैँ ठुलो माग रहेको उल्लेख गर्दै भट्टले यो अझैँ अगाडि जाने र पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने उनले बताए ।
अझ नेपाल जस्तो पेट्रोलियम पदार्थको उत्पादन नहुने देशले त इथानोलको उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनले धारणा राखे । ‘राज्य नीति बनाइ सकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौँ’ उनले भने ।



About Us
प्रतिक्रिया