बैंकिङ्ग प्रणालीको निक्षेप २ अर्बले बढ्दा, कर्जा प्रवाह १ अर्बले बढ्यो


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा वृद्धि भएको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ २० गते बिहीबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ७१ अर्ब बराबरको निक्षेप संकलन भएको छ। भदौ १९ गते बुधबार भने ६४ खर्ब ६९ अर्ब निक्षेप संकलन भएको थियो ।

यस तथ्यांकलाई हेर्दा एक दिनमा २ अर्बले निक्षेप संकलन बढेको देखिन्छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ । सो समयमा वाणिज्य बैंकबाट हुने निक्षेप संकलन पनि २ अर्बले नै बढेको छ । भदौ १९ गते ५७ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २० गते ५७ खर्ब ४५ अर्ब निक्षेप संकलन गरेका हुन् ।

त्यस्तै, त्यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कर्जा प्रवाहमा पनि १ अर्बको वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले गत २० गते ५२ खर्ब कर्जा प्रवाह गरेका छन्। गत १९ गते भने बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ९९अर्ब कर्जा प्रवाह गरेका थिए।

यसैगरी त्यसअवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा भने २ खर्बले बढेको छ । १९ गते ४५ खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २० गते ४६ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९५ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।