काठमाडौं – काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । आज काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको महानगरले जनाएको छ । सम्मान कार्यक्रममा मेयर शाहले भने ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ ।’
त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा गरिन् । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने डंगोलको भनाई छ । त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भनिन्, ‘मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यस अघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।’
प्रतिक्रिया