मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, कारोबार रकममा नयाँ किर्तिमान

मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, कारोबार रकममा नयाँ किर्तिमान


काठमाडौं – केन्द्रीय बैंकले चालू वर्षका लागि ल्याएको मौद्रिक नीतिको सकरात्मक प्रभाव पर्दा यो साता शेयर बजारमा उत्साहजनक वृद्धि आएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन सामान्य गिरावट आएपनि समग्रमा यो साता नेप्सेमा उच्च अंकको वृद्धि आयो ।

गत साताको विहीबार २५६८.१३ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको अन्तिम कारोबार दिनसम्ममा २७५५ अंकमा पुगेर रोकिएको छ । केन्द्रीय बैंकले गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेयता निरन्तर बजार बढेको हो ।

यो साताको ५ कारोबार दिनमध्ये नेप्से परिसूचक सोमबार र विहीबार भने सामान्य अंकले घट्यो । आइतबार ११३.४२ अंकले बढेको बजार सोमबार २०.४६ अंकले घट्यो । यस्तै मंगलबार ३५.५५ अंकले बढ्दा बुधबार ६४.२६ अंकले बढ्यो । यसैगरी साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक ५.२९ अंकको गिरावट आएको आयो ।

यो साता समग्रमा नेप्से परिसूचक १८७.४८ अंकले बढ्यो । विगत लामो समयदेखि घट्दो अवस्थामा रहेको बजार नयाँ सरकार गठन भएसँगै उकालो लाग्न थालेको थियो । यस्तै अर्थमन्त्रालयमा विष्णु पौडेल आएपछि झनै उत्साहित बनेका सेयर लगानीकर्ता मौद्रिक नीतिबाट थप उत्साहित बनेपछि एकै सातामा झण्डै २०० अंकको वृद्धि आएको हो ।

केन्द्रयि बैंकले मौद्रिक नीतिमार्फत संस्थागत सेयर धितो कर्जामा कायम २० करोडको सिमा खारेज गरेको थियो । यसबाहेक ५० लाख रुपैयाँभन्दा कम कर्जाको ‘रिस्क वेटेज’ घटाएको थियो । यससँगै साना–ठूला सबैजसो लगानीकर्ता उत्साहित बनेसँगै बजारमा रौनक आएको हो ।


कारोबार रकममा किर्तिमान, कुन दिन कति ?
यो साता नेपालको सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबारको किर्तिमान कायम गरेको छ । यसअघि २०७८ साल भदौ ३ गते कायम २१ अर्ब ४९ करोडको कारोबार किर्तिमान यो साता तोडिएको छ । यस्तै यो साताको बुधबार नेप्सेमा २१ ऋर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यस्तै विहीबार समेत २१ अर्ब ७१ ४८ करोड रुपैयाँको कारोबार भएको थियो । यसबाहेक मंगलबार १७ अर्ब १९ करोड रुपैयाँको र सोमबार १९ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो । यस्तैगरी आइतबार १५ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीतर्फको २० करोडको सिमा हटाएपछि सेयरमा लगानीको उत्साह देखिएसँगै कारोबार रकममा समेत दिनदिनै किर्तिमान बन्न थालेको हो ।