शेयर बजारमा २१ अर्ब ९१ करोडको किर्तिमानी कारोबार

शेयर बजारमा २१ अर्ब ९१ करोडको किर्तिमानी कारोबार


काठमाडौं – शेयर बजारमा अहिलेसम्मकै किर्तिमानी कारोबार भएको छ । आज बुधबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिलेसम्मकै किर्तिमानी कारोबार भएको हो ।

आज नेप्सेमा २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । यो यसअघिको किर्तिमानी कारोबार रकमको तुलनामा ४२ करोड रुपैयाँले बढी हो । यसअघि २०७८ भदौ ३ को उच्च कारोबार रकमको किर्तिमान रकमको कारोबार भएको थियो । सो मितिमा २१ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

साउन लागेसँगै शेयरबजारमा दैनिक उच्च अंकको कारोबार हुँदै आइरहेको छ । साउन १ गते ९ अर्ब रुपैयाँको कारोबार भएको थियो । त्यसअघि असार ३१ गते ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । त्यसयता निरन्तर कारोबार रकम बढ्दै २१ अर्ब ९१ करोड रुपैयाँसम्म पुगेको हो ।

साउन २ गते १२ अर्ब रुपैयाँको कारोबार हुँदा साउन ३ गते १५ अर्ब रुपैयाँको कारोबार भएको थियो । यस्तै साउन ६ गते समेत १५ अर्ब रुपैयाँकै कारोबार भएको थियो । ७ गते १३ अर्ब, ८ गते १४ अर्ब, ९ गते १६ अर्ब, १० गते १४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस्तै १३ गते १५ अर्ब, १४ गते १९ अर्ब र १५ गते १७ अर्ब रुपैयाँको कारोबार भएको थियो । साउनयता निरन्तर बढेको कारोबार रकमले अहिलेसम्मकै किर्तिमान कायम गरेको हो ।

मौद्रिक नीतिमार्फत केन्द्रयि बैंकले शेयर बजारप्रति लचक नीति लिएपछि कारोबार रकम बढ्न थालेको हो । संस्थागत लगानीकर्ताको हकमा २० करोडको सिमा हटाएपछि लगानी दिनदिनै बढिरहेको छ । यसक्रममा आज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६० अंकमा पुगेको छ । यो २.३८ प्रतिशतको वृद्धि हो ।