काठमाडौं – केन्द्रीय बैंकले सन् २०२२/२३ को मुद्रास्फीति तथ्यांक सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। सन् २०२२/२३ को पहिलो त्रैमासमा ८.४७ प्रतिशतसम्म पुगेको मुद्रास्फीति अन्तिम अर्थात् चौथो त्रैमाससम्म आइपुग्दा घटेर ७.२३ प्रतिशतमा आएको केन्द्रीय बैंकद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ। समीक्षा अवधिमा अधिकतम मुद्रास्फीति ६.५ मा सीमित राख्ने राष्ट्र बैंकको लक्ष्य थियो।
केन्द्रीय बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति औसत ६.६२ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ८.६२ प्रतिशत पुगेको छ। यसैगरी, समिक्षा अवधिमा सेवा क्षेत्र अन्तर्गतको होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रको मुद्रास्फीति करिब १५ प्रतिशत पुगेको छ। त्यस्तै, खाद्य मसलामा भने १२ प्रतिशतले महँगी बढेको छ ।
त्यस्तै, तेल तथा घिउको बजार मूल्य १० प्रतिशत हाराहारीले बढ्दा पेयपदार्थको मूल्यवृद्धि १० प्रतिशत मुनि रहेको तथ्यांकमा उल्लेख छ। समीक्षा अवधिमा यातायात क्षेत्रको महँगी १४ प्रतिशतभन्दा बढीले बढेको छ । गैरखाद्यान्नतर्फ सूचना तथा सञ्चार क्षेत्रको महँगी ५ प्रतिशत तल रहँदा लत्ताकपडा तथा अन्य पहिरनको महँगी ८ प्रतिशत हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ। अन्य वस्तु तथा सेवा क्षेत्रको महँगी ८ प्रतिशत आसपास रहँदा स्वास्थ्य सेवा क्षेत्रको महँगी १० प्रतिशतकाे हाराहारीमा रहेकाे तथ्यांकमा उल्लेख छ।



About Us
प्रतिक्रिया