एनआईसी एशिया बैंक २७औँ वर्षमा


काठमाडौं – एनआईसी एशिया बैंक २७ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै दिन सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको एनआईसी एशिया बैंक आजदेखि २७ औँ वर्षमा प्रवेश गरेको हो। साथै, बैंकले २७ वर्षे यात्रामा योगदान दिने ग्राहकवर्ग, नियामक निकाय, शेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ,’ बैंकले विज्ञप्ति मार्फत भनेकाे छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्याएको बैंकले जनाएको छ। बैंकले अहिलेसम्म कुल रू. २६ अर्ब ५९ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाएको तथा गत अर्थिक वर्ष ०८०/८१ मा मात्रै रू.२ अर्ब ८९ करोडभन्दा बढी राजस्व बुझाएको छ।