काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा बढेको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले जेठ ३१ गते बिहीबार वित्तीय संस्थाहरुबाट ६२ खर्ब ४२ अर्ब निक्षेप संकलन भएको देखाएको हो। जेठ ३० गते भने बैंक तथा वित्तीय संस्थाहरूले ६२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। यस तथ्यांकलाई हेर्दा एक दिनमा ७ अर्बले निक्षेप संकलन बढेको देखिन्छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन बढ्दै गइरहेको छ। बिहीबार वाणिज्य बैंकहरुबाट ५५ खर्ब २५अर्ब निक्षेप संलकन भएको छ। अघिल्लो दिन बुधबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका थिए।
त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह पनि केही बढेको देखाएको छ। जेठ ३० गते बुधबार ५१ खर्ब ३१ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार भने २ अर्बले बढेर ५१ खर्ब ३३ अर्ब कर्जा प्रवाह भएकाे केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। साथै, सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ। वाणिज्य बैंकहरुबाट बुधबारसम्म ४५ खर्ब ४१ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएकाे छ ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ८०.०८ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत कायम भएको छ। अघिल्लो दिन भने अन्तर बैंक ब्याजदर २.९७ प्रतिशत कायम भएको थियो।






About Us
प्रतिक्रिया