काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) बजारबाट पुनः ३० अर्ब रुपैयाँ तान्ने भएको छ । हिजो (बिहीबार) ३५ अर्ब रूपैयाँ तानेको केन्द्रीय बैंकले आज फेरि ३५ अर्ब तान्न लागेको हो । वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि आज केन्द्रीय बैंकले १४ दिन अवधिको रू.३५ अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्च लागेको हो। यसका लागि बैंकले आज १२ बजे बोलकबोल गर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ। यो १४ दिने निक्षेप संकलन उपकरणको असार १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले जेठ लागेयता यो ११ औँ पटक बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको हो । यसअघि बैंकिङ्ग प्रणालीबाट राष्ट्र बैंकले जेठ ३० गते ३५ अर्ब रुपैयाँ, २५ गते ३० अर्ब रुपैयाँ, जेठ २४ गते ४० अर्ब रुपैयाँ, जेठ १८ गते २५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।
बैंकिङ्ग प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई निकै सकस परेको छ। बैंकिङ्ग प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग बढ्न नसक्दा तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई गाह्रो परेको हो। निक्षेप बढ्दै जाँदा अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गर्नुपर्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ। पछिल्लो समयमा अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया