काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले वृद्धि भई रु.११ खर्ब ९८ अर्ब ६० करोड पुगेको उल्लेख गरेको छ। बैंकले १० महिनाको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक गर्दै यस्तो जनाएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो। साथै,अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको उल्लेख गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो। साथै, समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३ खर्ब ०१ अर्ब ७२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।



About Us
प्रतिक्रिया