देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी


कैलाली – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए।

रोजगारी प्रवद्र्धनका रूपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे। मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रूपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे।

कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिन प्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताए। उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए। नगरप्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गरे। सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

कैलालीको धनगढीमा आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा हालसम्म ३७ निजी क्षेत्रका परामर्श कक्ष रहेका छन्। मेलामा रोजगारी सिर्जनाका लागि दुई हजार छ सय ६४ जनाको माग रहेको छ भने हालसम्म करिब पाँच हजार व्यक्तिको निवेदन परेको आयोजकले बताएको छ।