काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलका प्रवक्ता सुभास झाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ अर्थात नोभेम्बर ८ देखी ३१ मार्च सम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने जानकारी दिएका छन्।
विमानस्थलको धावनमार्ग र ट्याक्सी–वे निर्माण कार्य अन्तर्गत नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको छ। ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तार गर्न विमानस्थल बन्द गर्न लागिएको हो। हाल पाँच ठाउँबाट जोडिएको ट्याक्सी–वे धावनमार्गलाई चैतसम्म १० ठाउँबाट जोड्ने काम सम्पन्न हुने बताइएको छ।
यो विस्तारको कामले विमानस्थलको धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्ने र हवाई ट्राफिकमा कमी आउने अपेक्षा गरिएको छ। दसैँ तथा तिहारको हवाई चाप कम हुँदै जाने र पर्यटकीय सिजनसमेत सकिने भएकाले उडान सेवा कम प्रभावित हुने जानकारी दिइएको छ। हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको छ र यहाँ राति १० बजेपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुँदै आएको छ।






About Us
प्रतिक्रिया