काठमाडौं – नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्ति र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान कार्यक्रम आयोजना गरिएको छ। सो समारोहमा काठमाडौंमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल–आइसल्याण्ड सम्बन्धमा नयाँ अध्याय सुरू हुने र जसको उद्देश्य सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताइएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महावाणिज्यदूत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार-प्रसार र अन्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यस्तै, उपसभामुख इन्दरा राणा मगरले महावाणिज्यदूतमा राणालाई नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्नुको साथै महिलाले कुटनैतिक क्षेत्रमापनि महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास व्यक्त गरिन्।
सो कार्यक्रममा नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन्। साथै, राणाले नयाँ अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कृतज्ञता र प्रतिबद्धता व्यक्त गरिन्। उनले बढेको कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरूको बारेमापनि बताइन्। आइसल्याण्ड गणतन्त्रका राजदूत गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने बताए। कार्यक्रममा संघीय संसदका सांसद, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र राजदूत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाल उद्योग परीसंघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, सरकारी र गैरसरकारीसहित व्यवसायीको सहभागीता रहेको थियो।





About Us
प्रतिक्रिया