गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालू आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ।
सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि उद्योग सञ्चालनका लागि प्रक्रिया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक अर्जुनसेन ओलीले बताए। ‘मन्त्रालय तहबाट नीतिगत निर्णय त भएको हो, तर उद्योग सञ्चालनको गृहकार्य अघि बढेको छैन,’ उनले भने।
मन्त्रालयले रुग्ण तथा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि ०७८ मा प्रारम्भिक अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको निर्देशक ओलीले बताए। ‘हेटौँडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई दिनेबारे सरकारले छलफल चलाइरहेको छ, तर गोरखकाली रबर उद्योग सञ्चालनको ढाँचा र लगानी स्रोतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन,’ उनले भने।
सरकारले नीति तथा कार्यक्रममार्फत गरेको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा जनस्तरमा संशय कायमै छ। यसअघि पनि गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन। गोरखकाली देशकै एक मात्र टायर उत्पादन गर्ने उद्योग हो।
०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण ०७२ देखि पूर्ण रूपमा बन्द छ। सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई ०७६ फागुनमा रु. ९६ करोड दायित्वसहित अवकाश दिएको थियो। अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन्।
गोरखाको गोरखा नगरपालिका– १३ मजुवा देउरालीको ६ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झन्डै १० अर्बबराबरको सम्पत्ति रहेको जनाइएको छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको उद्योगमा २५ वर्ष सेवा गरेका दिनेश कार्कीले बताए।
उनले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनः सञ्चालन गर्न सकिने बताए। ‘५०–६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ,’ उनले भने, ‘बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।’
कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रिने गरेको छ । नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक ‘बायस’ प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । ‘रेडियल प्रविधिमा जाने हो भने रु. ५० करोडभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ,’ कार्कीले भने।
यसअघि मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालन गर्न सकिने भनेर औँल्याएको थियो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले संघ सरकार र प्रधानमन्त्रीबाटै प्रतिबद्धता आएकाले आफूहरू उद्योग सञ्चालन हुनेमा आशावादी रहेको बताए।
‘जिल्ला र स्थानीयस्तरबाट पनि पहल हुँदै आएको छ, तर अहिलेसम्म प्रयास सार्थक बन्न सकेको छैन,’ उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको अवधारणमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’ सरकारले उद्योग सञ्चालनको घोषणा गर्ने, तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए।
गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्न सक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको प्रमुख राना मगरको भनाइ छ । ‘बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ,’ उनले भने, ‘स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पुर्याउँछ ।’
लगानी र नयाँ प्रविधि भित्र्याएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । गोरखाका राजनीतिकर्मी, व्यवसायीलगायत सर्वसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन् । राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवर्द्धनको कमीजस्ता कारणले उद्योग बन्द हुन पुगेको स्थानीयवासी बताउँछन् । सरकारले चालू आवको नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालनको घोषणा गरेको थियो।






About Us
प्रतिक्रिया