काठमाडौं – एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तीय संस्थाको रूपमा रहेको रिलायन्स र नव स्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तीय सेवा र पुँजी बजार सम्बन्धी सेवा सहज र सरल रूपमा दिनका लागि सम्झौता गरेका हुन ।
दुवै संस्थाबीच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अधिकृत दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरू मार्फत एलिट क्यापिटलका सेवाहरू प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरूका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ ।
यस बाहेक लगानीकर्ताहरूलाई सेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोबार खाता एवम अनलाइन टिएमएस सेवा समेत उपलब्ध गराइने भएको छ ।
साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलब्ध गराउनेछ भने सेयर लगानीकर्ताहरूलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ।
एलिट क्यापिटलले १९९९ रुपैयाँमा एक पटक खोलेपछि आजीवन नवीकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैयाँमा १० वर्षसम्म नवीकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ। यस्तै रिलायन्स फाइनान्सका खातावालहरूका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
प्रतिक्रिया