विमानस्थलको व्यवस्थापनका लागि ग्लोबल टेण्डरका आधारमा कम्पनी छनोट गछौँः प्रवक्ता निरौला

विमानस्थलको व्यवस्थापनका लागि ग्लोबल टेण्डरका आधारमा कम्पनी छनोट गछौँः प्रवक्ता निरौला


काठमाडाैं–नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्क्ता जगन्नाथ निरौलाले विमानस्थलको व्यवस्थापनका लागि ग्लोबल टेण्डरका आधारमा कम्पनी छनोट गर्ने बताएका छन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा प्रवक्ता निरौलाले विमानस्थल व्यवस्थापनको विषय प्रारम्भिक चरणमा रहेकाले व्यवस्थापनको जिम्मा कसलाई दिने भन्ने छलफल नभएको समेत बताएका हुन्।

प्राधिकरणले निजगढ विमानस्थल बनाउने कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न दिने प्रस्ताव अगाडि बढाएसँँगै व्यवस्थापनलाई लिएर चासो बढेको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा निजी क्षेत्र भित्र्याउने बोल्ड निर्णय गरेसँगै व्यवस्थानको जिम्मा कसले लिन्छ भन्ने चासो बढेको हो ।

‘व्यवस्थापनको विषय प्रारम्भिक चरणमा रहेकाले अहिले नै टेण्डर कसलाई दिने भन्ने निर्धारण गरेका छैनौं, प्राधिकरणको बोर्डबाट चारवटै अन्तराष्ट्रिय विमानस्थल पीपीपी मोडलबाट सञ्चालन गर्ने भन्ने निर्णय गरी मन्त्रालयलाई पठाएका छौँ ।’ उनले भने ।

पुस २० गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । निजगढ निर्माण गर्नेलाई त्रिभुवन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गर्न दिने प्रस्ताव पनि क्यानले अगाडि बढाएको छ । सो विमानस्थल निर्माणको काम एक वर्षभित्र सुरु गरिसक्ने र मोडालिटीमा ३ हजार ८४५ हेक्टरमा विमानस्थल बनाउने प्रस्ताव बैठकले अघि सारेको छ । पर्यटन तथा नागारिक उड्यन मन्त्रालयबाट स्वीकृत भएपछि पहिलो चरणमा १ हजार ९३३ हेक्टरमा मात्र विमानस्थल बनाइने बैठकले जनाएको छ । यसका लागि सवाँ १ खर्ब रुपैयाँ लाग्ने अनुमान प्राधिकरणको छ ।