न्यूनतम् चुक्ता पुँजी कायम गर्न बीमा कम्पनीहरू किन असफल ?

न्यूनतम् चुक्ता पुँजी कायम गर्न बीमा कम्पनीहरू किन असफल ?

बीमा प्राधिकरणको निर्देशनलाई अटेर कि परिस्थिति असहज !


काठमाडौं- नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)ले २०७८ चैत १० गते सबै बीमा कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै चुक्ता पुँजी वृद्धिको लागि निर्देशन दियो। उक्त निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तभित्र न्यूनतम पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने थियो।

त्यो चुक्ता पुँजी कायम गर्न बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना समेत पेस गर्नुपर्थ्याे । तर अहिलेसम्म पनि जीवन बीमा कम्पनीहरुले न तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्न सफल भएका छन्, न त नियमनकारी निकाय प्राधिकरणले चुक्ता पुुँजी वृद्धिको लागि कडाइ नै गरेको छ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्। तीमध्ये हालसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी कायम गर्न सफल भएका छन्। यी कम्पनीहरुको चुक्ता पुँजी क्रमशः आठ अर्ब २० करोड ७९ लाख ६६ हजार, आठ अर्ब २० करोड तीन लाख २४ हजार र पाँच अर्ब एक करोड १६ लाख ६६ हजार रुपैंयाँ रहेको छ।

यीबाहेक अन्य कम्पनीहरू न्यूनतम् चुक्ता पुँजी कायम गर्न असफल देखिएका छन्।

सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र आईएमई लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी पाँच अर्ब नजिक छ। यी कम्पनीहरुको चुक्ता पुँजी क्रमशः चार अर्ब ५४ करोड ५५ लाख, चार अर्ब २९ करोड ६० लाख, चार अर्ब १८ करोड ४० लाख र चार अर्ब रुपैयाँ रहेको छ।

यसैगरी एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी तीन अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ। रिलायवल नेपाल, लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिटिजन्स लाइफ, सननेपाल लाइफ र राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी क्रमशः दुई अर्ब ८० करोड, दुई अर्ब ६५ करोड ३२ लाख, दुई अर्ब ६२ करोड ५० लाख, दुई अर्ब २४ करोड र दुई अर्ब दुई करोड ४८ लाख रुपैयाँ रहेको छ। मेट लाइफ इन्स्योरेन्स कम्पनी भने विदेशी कम्पनी भएको हुँदा उक्त कम्पनीको चुक्ता पुँजी उल्लेख भएको छैन।