बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भोग्नुपरिरहेको बताए ।
राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रमुख हकदार भएको बताएका छन् । मंगलबार इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्ने स्पष्ट पारे ।
उनले भने “अहिलेको विश्व मानवसिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा छ । पहाडी संवेदनशील भूवनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ।”
राष्ट्रपति पौडेलले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनिकरण, जैविक विविधता संरक्षण, जीवीकोपार्जन सम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताए ।
राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु हाम्रा सामु ठूलो चुनौती छ । हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ।’
उनले इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिवद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताए ।



About Us
प्रतिक्रिया