बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो मंसिर महिनामा अहिलेसम्म ४ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकहरुबाट ४५ अर्ब रुपैयाँ तानिसकेको छ।
केन्द्रीय बैंकले गत मंसिर ६ गते, १२ गते, १४ गते र १७ गते गरी ४ पटक यो उपकरण प्रयोग गरी बैंकहरुबाट ४५ अर्ब रुपैयाँ तानेको हो। तर, राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ तान्दा बैंकहरुले भने कुल १ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँ बढीको आवेदन पेस गरेका थिए।
यसैगरी निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर १४ गते १५ अर्ब रुपैयाँ खिचेको थियो। यी दुवै बेलाको बोलकबोलमा क्रमशः १३ वटा बैंक तथा वित्तीय संस्थाबाट ३९ अर्ब ६० करोड र १२ वटा बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब १० रुपैयाँको आवेदन पेस गरेका थिए। यी दुवैमा औसत ब्याजदर क्रमशः १।१४ प्रतिशत र १.०४ प्रतिशत कायम भएको थियो।
हिजो मंसिर १७ गते पनि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तानेको छ। तर, ९ वटा बैंक तथा वित्तीयले भने बोलकबोलमार्फत २५ अर्ब रुपैयाँको आवेदन पेस गरेका थिए। यसमा भने औसत ब्याजदर ०.९८ प्रतिशत कायम भएको थियो।






About Us
प्रतिक्रिया