एनआईसी एशिया बैंकको सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम



बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एसिया बैंकले ऋणी ग्राहकलाई राहात हुने हिसाबले कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशतमात्रै लिइने जनाएको छ।

यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहक महानुभावहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरु जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको छ। आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई उनीहरुलाई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६५६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।