(कोप २८) मा प्रधानमन्त्री प्रचण्डले ‘जलवायु मुद्दामा नेपाल अन्यायमा परेको’बताए


बैंकिङ्ग समाचार, काठमाडौं । 

संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताए । ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको छ, जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट हाम्रा जनताहरुले भोगिरहेका छन्’ उनले भने, ‘यो अत्यन्तै अन्यायपूर्ण भयो, यसको अन्त्य हुनुपर्छ ।’प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले हिमालय र जलवायु परिवर्तनका विषयमा संवादको आवश्यकता रहेको पनि बताए । जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको पनि प्रचण्डले बताए । जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको भन्दै उनले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताए ।

नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको पनि उनले बताए । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गरे ।

जलवायु संकटलाई सम्बोधन गर्न अति कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने पनि उनले बताए । हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए । जलवायु परिवर्तनमा योगदान नहुँदा नहुँदै विनाशको भागीदार बन्नु परेर अन्यायमा परेका नेपाली नागरिकको तर्फबाट सम्मेलनमा सहभागी भएको प्रचण्डले बताए ।