अब ब्रोकर कम्पनीहरुले पनि नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्चिनुपर्ने 

अब ब्रोकर कम्पनीहरुले पनि नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्चिनुपर्ने 


बैकिङ्ग समाचार ।

अब सेयर ब्रोकर कम्पनीहरुले पनि आफ्नो खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषका लागि खर्चिनुपर्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले पहिलेदेखि नै यस्तो कोषमा रकम छुट्याउँदै आएकोमा धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई समेत यो व्यवस्था लागू गराएको हो। ब्रोकर कम्पनीहरुले सेयर लगानीकर्ताहरुबाट कारोबार रकमका आधारमा ०. २७ देखि ०.४ प्रतिशतसम्म कमिसन लिँदै आएका छन्।

हाल ५० ब्रोकर कम्पनी संचालनमा छन्। ती कम्पनीहरुमार्फत दैनिक ५ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ। कतिपय ब्रोकर कम्पनीको वार्षिक नाफा नै १ करोडभन्दा धेरै हुने गरेको छ। 

प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने अवस्था रहेको र यसका लागि धितोपत्र बजारसम्बद्ध सबै पक्षहरुको सहभागिता आवश्यक देखिएको जनाउँदै बोर्डले सामाजिक उत्तरदायित्वका लागि रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो। 

ब्रोकर कम्पनी मात्रै नभई अब केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था  तथा धितोपत्र व्यापारीहरुले खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न छुट्याउनुपर्नेछ। 

विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा यस्तो रकम खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप वितरण हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ। 

मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था यसअघि नै कार्यान्वयनमा आइसकेको बोर्डले जनाएको छ।