ट्रेजरी बिल भनेको के हो ?  राष्ट्र बैंकका प्रवक्ताको व्याख्या यस्तो छ

ट्रेजरी बिल भनेको के हो ?  राष्ट्र बैंकका प्रवक्ताको व्याख्या यस्तो छ


नेपाल राष्ट्र बैंकले फागुन १२ गते सोमबार २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। केन्द्रीय बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। फागुन १३ गते मंगलबार जारी हुने ट्रेजरी बिल २०७७ जेठ १३ गते परिपक्व हुनेछ। बिलमा सोमबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत आवेदन गर्न पाउनेछन्। तर ट्रेजरी बिल भनेको के हो ? किन जारी गर्ने ?

यस सम्बन्धमा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैकिङ्ग समाचारसँग कुरा गर्दै यस्तो व्याख्या गरे :

ट्रेजरी बिल सरकारलाई आवश्यक पर्ने रकम जुटाउन एक वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन औजार हो। ट्रेजरी बिल विशेष गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार अवधिको निस्कासन  गरिन्छ । यी विभिन्न अवधिका ट्रेजरी बिल आवश्यकता अनुसार निस्कासन गरिन्छ । अहिले सरकारसँग ४५२ अर्ब बराबरको आन्तरिक तथा बाह्य  ऋण छ । सरकारले ऋण लिने विभिन्न स्रोतहरु छन् । सोही स्रोतमध्यको अल्पकालिन रुपमा ऋण लिने पद्धतीलाई  ट्रेजरी बिल भनेर जारी गरिन्छ । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । यो बिलको निश्चित फेस भ्याल्यु हुन्छ । भुक्तानी गर्ने वेलामा त्यही फेस भ्यालुबराबरको रकम दिने सर्तमा राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्दछ । जस्तो १८२ दिनको (६ महिने) ट्रेजरी बिल निष्कासन गर्दा सरकारले मानौँ १ लाख मागेको छ भने अहिले बिल खरिदकर्ताले ९६ हजार मात्र तिरे पुग्छ । बाँकी ४ हजारचाहिँ ट्रेजरी बिलको ब्याज रकम हो । चलनचल्तीको भाषामा यसलाई डिस्काउन्ट भनिन्छ । सरकारले पछि भुक्तानी गर्दा भने १ लाख नै तिर्छ । यसमा डिस्काउन्टमा बार्गेनिङ गर्ने चलन पनि हुन्छ । 
ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउन्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 

यसलाई जोखिमरहित लगानी पनि भनिन्छ । यो विशेष गरेर सरकारले केन्द्रीय बैंकमार्फत जारी गर्ने भएकाले कुनै जोखिम हुँदैन । ब्याज (डिस्काउन्ट) पनि अगाडि नै थाहा हुने भएकाले लगानीकर्ताले ट्रेजरी बिलमा लगानी गर्दा फाइदा हुन्छ कि अन्यमा लगानी गर्दा फाइदा हुन्छ भनेर अगाडि नै विश्लेषण गर्न सक्छन् । र हालसम्म खासगरी बैंक तथा वित्तिय संस्थाहरु मात्रै आवद्ध भइरहेका छन् । आम जनमानसले पनि यसमा लगानी गर्न पाउने सवैंधानिक व्यवस्था पनि छ । तर, कहिलेकाहीँ ट्रेजरी बिलमा फाइदा नदेख्दा लगानीकर्ताले अन्तै लगानी गरेका पनि हुन्छन् ।

राष्ट्र बैंकले हालसालै जारी गर्न लागेको ट्रेजरी बिल यस आर्थिक वर्षको सुरुवाती अवस्थाको होइन । यो पहिलाको ऋणलाई निरन्तरता दिने खालको हो ।